खानेपानी डिभिजन कार्यालयका इन्जिनियर एक लाख ३० हजार घुससहित पक्राउ

बनेपा । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका इन्जिनियर शेखरनाथ खनाललाई एक लाख ३० हजार नगद घुससहित रंगेहा पक्राउ परेका छन् ।

शुक्रवार दिउँसो धुलिखेलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । खनाललाई सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले दिएको जानकारी अनुसार पनौती नगरपालिका–११ स्थित बल्थली बृहत खानेपानी उपभोक्ता समितिको बोरिङ मेशिन खरीद गरिएको विषयलाई लिएर इन्जिनियर खनाललाई चिनेको सप्लायर्सलाई भेटाइदिन गरिएको आग्रह अनुसार भएको कारोबार रकमको विषयलाई लिएर सो घटना भएको हुन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्