ब्राजिलको रक्षापंक्ति विरुद्ध बेल्जियमको अग्रपंक्तिः दुई दाबेदारहरुको भिडन्त

एजेन्सी । रुस विश्वकप २०१८ को दोस्रो क्वाटरफाइनल अन्तर्गत दुई विश्वकप दावेदार टोली बेल्जियम र ब्राजिल भिड्दै छन् । खेल नेपाली समय अनुसार रातिको ११ः४५ बजे सुरु हुने छ ।

ब्राजिलका लागि राम्रा मिडफिल्डर क्यासेमिरो यो खेलमा प्रतिबन्धित रहेका छन् । उनको स्थानमा फर्नान्डिनो रहने छन् । अघिल्लो खेलमा घाइते रहेका मार्सेलो पनि यस खेलमा फर्किने देखिन्छ । ड्यानिलो घाइते रहेकाले फागनरले आफ्नो स्थान सुरक्षित पाउने छन् । त्यस्तै अघिल्लो खेलमा गोल गरेका रोबर्टो फिर्मिनो भने ग्याब्रियल जेससको स्थानमा टोलीमा आउने छन् ।

बेल्जियमका लागि भने सबै खेलाडी फिट रहेका छन् । फरवार्ड ड्रायस मर्टेन्सलाई बेन्चमा राखी केभिन डि ब्रुयनलाई अगाडी खेलाउने विकल्प पनि प्रशिक्षक रोबर्टो मार्टिनेजसंग रहेको छ । त्यस अवस्थामा फरोने फेलाइनी वा नसिर चाड्लीले टोलीमा स्थान पाउने छन् । बेल्जियमले प्रतियोगितामा सर्वाधिक १२ गोल रहेको छ भने ४ गोल खाएको पनि छ भने ब्राजिलले ७ गोल गर्दै केवल १ गोल खाएको छ ।

बेल्जियमको अग्रपंक्ति यस प्रतियोगितामा सबैभन्दा राम्रो लयमा देखिएको छ । अर्को तर्फ, ब्राजिलको रक्षापंक्तिलाई विपक्षीले एक पटक मात्र तोडेको छ । त्यसैले यो खेल ब्राजिलको रक्षापंक्ति विरुद्ध बेल्जियमको अग्रपंक्तिको हेर्न लायक खेलको रुपमा पनि लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्