राष्ट्रिय सभाको बैठकमा ज्येष्ठ नागरिकको सेवा सुविधामा वृद्धि गर्नुपर्ने सांसदहरुको जोड

काठमाडौँ । राष्ट्रिय सभाको विहिवारको बैठकमा विनियोजन विधेयक, २०७५ का विभिन्न शीर्षकमाथि सांसदहरुले आआफ्नो धारणा राखेका छन् ।

विनियोजन विधेयक, २०७५ माथिको वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, खानेपानी, अर्थ, शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत सांसदहरुले आआफ्नो धारणा राखेका थिए ।

सांसदहरु विना पोख्ररेल, महेश महरा, खगेन्द्र पुरी, इन्दु कडरीया, नन्दा चपाँइ, नरपती लुहार, भैरवसुन्दर श्रेष्ठ, दीपा गुरुङ, खड्गप्रसाद पुरी, खिमकुमार विक लगाएतले लैङ्गिक हिंसाको अन्त्य, ज्येष्ठ नागरिकको सेवा सुविधामा वृद्धि, बालबालिका मैत्री विद्यालय स्थापना, महिला तथा बालबालिका बेचबिखनमा संलग्न हुनेलाई कडा कानूनी कारबाही, लगानीमैत्री वातावरणको निर्माण, वैज्ञानिक वन व्यवस्थापन, सिँचाइ आयोजना निर्माणमा तदारुकता, खानेपानी व्यवस्थापन र सीपयुक्त जनशक्ति निर्माणमा उनिहरुले जोड दिएका छन् ।

राष्ट्रियसभाको अर्को बैठक असार २२ गते विहान ११ बजे बस्ने छ । उक्त बैठकमा विनियोजन विधेयक, २०७५अन्तर्गत रक्षा, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयका शीर्षक माथि छलफल हुने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्