१८ औँ एसियाली खेलकुद इण्डोनेसियामा हुने, फुटबलतर्फ नेपाल र जापान एउटै समूहमा

 काठमाडौँ । आउँदो अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इण्डोनेसियामा आयोजना हुने १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपाल समूह डी मा परेको छ ।

यस समूहमा नेपालसँगै एसियाली पावरहाउस जापान, भियातनाम र पाकिस्तान छन् । एसियाली खेलकुदमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ ।

एसियाली खेलकुदमा ओलम्पिक टोली अर्थात २३ वर्ष मूनिका खेलाडीहरु खेल्न पाउँछन् । प्रत्येक टोलीमा बढीमा तीन खेलाडी बढी उमेरका राख्न पाइने व्यबस्था रहेको छ ।

अगष्ट १४ देखि सेप्टेम्बर एकसम्म सञ्चालन हुने पुरुष फुटबलको समूह ए मा आयोजक इण्डोनेसिया, हङकङ, लाओस र चाइनिज ताइपेई रहेका छन्, समूह बी मा थाइल्याण्ड, उज्वेकिस्तान, बंगलादेश र कतार छन् ।

त्यस्तै समूह सी मा इराक, चीन, पूर्वी टिमोर र सिरिया छन् । समूह ई मा दक्षिण कोरिया, कीर्गिस्तान, मलेसिया र बहराइन परेका छन् । र, समूह एफ मा उत्तर कोरिया, साउदी अरब, इरान र म्यानमार रहेका छन् ।

६ समूहका शीर्ष दुई टोली अन्तिम १६ मा पुग्नेछन् । त्यस्तै समूहमा तेस्रो भएका ६ मध्ये उत्कृष्ट ४ टोलीले पनि अन्तिम १६ मा स्थान बनाउनेछन् ।

एसियाली खेलकुदको महिलातर्फको खेलतालिका पनि सार्वजनिक गरिएको छ । सहभागी ११ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । महिला फुटबलमा भने नेपालले सहभागिता जनाएको छैन ।

समूह ए मा आयोजक इण्डोनेसिया, दक्षिण कोरिया, चाइनिज ताइपेई र माल्दिभ्स छन् । त्यस्तै समूह बीमा उत्तर कोरिया, चीन, हङकङ र ताजिकिस्तान र समूह सीमा जापान, भियातनाम र थाइल्याण्ड रहेका छन् ।

समूह ए र बी का शीर्ष तीन तथा समूह सीका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । महिला फुटबल प्रतियोगिता अगष्ट १६ देखि ३१ सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्