अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालन

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेका दुई ठूला पहिरो पन्छाएपछि आज दिउँसो ४ः३५ बजेबाट सडक सञ्चालनमा आएको छ ।

सो सडकखण्डको टोपेखोला र कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सो सडकको टोपे खोलामा बिहान ५ः३० बजे र कालीखोलामा ८ः३० बजे पहिरो खसेको थियो । दुवै ठाउँमा दुई–दुई वटा एक्साभेटर र लोडर प्रयोग गरेर पहिरो पन्छाउने काम सकिए पछि सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको हो ।

आयोजनाका इन्जिनियर शिव खनालका अनुसार बिहान ५ः३० बजेदेखि पहिरोका कारण अवरुद्ध सडक ११ घण्टापछि सञ्चालनमा आएको छ । नारायणगढ मुग्लिन सडक दुईतर्फी सवारी आवागमन हुने गरी सडक खुलाइएको उनको भनाई छ ।

पहिरो पन्छाएसँगै बिहानदेखि नै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्