कोलम्बियालाई हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा

एजेन्सी । कोलम्बियालाई टाइब्रेकरमा ४–३ ले हराउँदै इंग्ल्यान्ड रसियामा जारी विश्व कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । विश्व कप इतिहास मै इंग्ल्यान्ड पेनाल्टी सुट आउटमा विजयी भएको यो पहिलो पटक हो । इंग्ल्यान्ड र कोलम्बियाबीचको निर्धारित ९० र ३० थप समय खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

पेनाल्टी सुटआउटमा सुरुका २–२ पेनाल्टीमा दुवै टोलीले गोल गरेका थिए । कोलम्बियाका कप्तान राडामेल फाल्काओले पहिलो पेनाल्टीमा गोल गर्न सफल भए । इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले पनि पेनाल्टीमा गोल गरे ।

दोस्रोमा कोलम्बियाका हुवा काड्राडोले र इंग्ल्यान्डका मार्कुस रासफोर्डले गोल गर्दा खेल टाइब्रकेरमा २–२ को बराबरी भएको थियो । तेस्रोमा कोलम्बियाका लुइस मुरियलले गोल गरे भने इंल्यान्डका जोर्डन हेन्डर्सनको प्रहारलाई कोलम्बियाका गोलकिपर डेभिड ओस्पिनाले रोके ।

 

कोलम्बियाका लागि चौथो पेनाल्टी प्रहार गरेका मेटेउस उरिबीको प्रहार पोस्टमा लाग्यो । इंग्ल्यान्डका केरन ट्रिपरले गोल गर्दै खेललाई ३–३ को बराबरीमा पुर्याए । कोलम्बियाका कार्लोस बाकाको प्रहारलाई इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोके । इंग्ल्यान्डका लागि इरिक डियरले गोल गरेपछि टोली ४–३ ले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्