सूर्या लाइफको असार ३२ मा एजीएम, १२ प्रतिशत बोनस लगतै ७० प्रतिशत हकप्रद
काठमाडौं । सूर्या लाइफ इन्सुरेन्सको लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर दिने विशेष प्रस्ताव सहित असार ३२ मा साधारण सभाको मिति तोकेको छ । हालै मात्र बिक्री गरिएको ४० प्रतिशत हकप्रद भर्नेले पनि बोनस सेयर पाउने छन् ।
इन्सुरेन्सले कर प्रयोजनको लागि ०.६२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि साधारण सभामा लैजानेछ । यस हिसाबले १२ करोड १२ लाख ७५ हजार रुपैयाँ बराबरको बोनस र ६३ लाख ८२ हजार ८९५ रुपैयाँ नगद लाभांशमा बाँडिनेछ । सभा होटल हैरिसन प्यालेस, बजरंगबली मार्ग विराटनगरमा बिहान ११ः०० बजे सुरु हुनेछ ।
सूर्याले बोनस सेयर वितरण गरे पश्चात कायम हुने चुक्ता पुँजीबाट पुनः ७० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अर्को विशेष प्रस्ताव पनि सभामा पेश गर्दैछ । आर्थिक वर्ष २०७३÷७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव समेत राखिएको छ ।
आर्थिक वर्ष २०७४/७५ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि पेश हुनेछ । साधारण सभा गर्न कम्पनीले असार १७ गतेदेखि असार २३ गतेसम्म बुक क्लोज गरिरहेको छ । यस आधारमा असार १६ सम्म कायम सेयरधनीले बोनस र नगद लाभांश सुरक्षित गर्न सक्नेछन् ।
हाल यसको चुक्ता पुँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ छ । ४० प्रतिशत हकप्रदपछि पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ । १२ प्रतिशत बोनस दिएपछि चुक्ता पुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुग्नेछ । बिमा समितिले जीवन बिमा कम्पनीलाई २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । सोही अनुसार फेरि ७० प्रतिशत हकप्रद ल्याउन लागिएको हो ।















प्रतिक्रिया दिनुहोस्