उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयद्वारा विपद् व्यवस्थापन समिति गठन

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले मन्त्रालयस्तरीय विपद् व्यवस्थापन समन्वय समिति गठन गरेको छ । अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट हुने जोखिम न्यूनिकरणका लागि सोमबार मन्त्रालयस्तरीय विपद् व्यवस्थापन समन्वय समिति गठन गरिएको हो ।

मन्त्रालय अन्तर्गतको जलस्रोत महाशाखाका प्रमुख महेश्वर नरसिंह केसीको नेतृत्वमा गठित समितिमा जल तथा मौसम विज्ञान विभाग, जलस्रोत तथा सिंचाइ विभाग, विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण र जल उत्पन्न प्रकोप व्यवस्थापन शाखाका प्रमुखहरु रहेका छन् ।

बाढी, पहिरो र डुबानलगायतको जोखिमबारे सर्वसाधारणलाई मन्त्रालयको तर्फबाट पूर्व सावधानीका लागि आवश्यक सर्तक गराउने उद्देश्यका साथ विपद् व्यवस्थापन समन्वय समिति गठन गर्नु परेको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले जानकारी दिए ।

वर्षाका कारण हुने जोखिम न्यूनिकरण र विभिन्न पूर्वाधारहरुको आपतकालीन संरक्षण गर्नसमिति गठन गरिएको पनि मन्त्री पुनले स्पष्ट पारे । उनले समितिले मौसमको पूर्वानुमान र वर्षाका कारण हुने समस्याका बारेमा चौबीसै घण्टा पूर्वसूचना दिने व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कूलमान घिसिङले डुबान भएका ठाउँहरुमा मानवीय क्षति हुन नदिन विद्युत आपूर्ति बन्द गर्ने लगायतका सावधानी अपनाइएको जानकारी दिए । उनले हालसम्म विद्युत सबस्टेसन बन्द हुने गरी डुबान समस्या नदेखिएको पनि स्पष्ट पारेका छन् ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बाढी, पहिरो र डुबान हुने ठाउँहरुमा उच्च सर्तकता अपनाउन पनि सर्वसाधारणलाई अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्