व्यक्तिगत घटना दर्ता अब अनलाइनमा पनि हुने

काठमाडौँ । केन्द्रीय पञ्जीकरण विभागले २०३४ सालदेखिका जन्म, मृत्यु, बसाइँ–सराइ, विवाह र सम्बन्ध विच्छेदका घटना अनलाइनमा राख्न थालेको छ ।

विभागका सूचना प्रविधि शाखाका इन्जिनियर सञ्जीव पौडेलका अनुसार हालसम्म पाँच लाख ५४ हजार ९९२ जनाको घटना अनलाइनमा राखिएको जानकारी दिए । उनले विभागमा दर्ता भएका ती घटना व्यवस्थित, पारदर्शी एवं प्रभावकारी बनाउन अनलाइनमा राख्न थालेको बताए ।

उनका अनुसार तीन लाख २४ हजार ८६१ हजार जन्मदर्ता, ६१ हजार २६५ बसाइँ–सराइ, एक लाख १२ हजार ६५९ विवाह दर्ता, एक हजार ९४८ सम्बन्धविच्छेद र ५४ हजार २९५ मृत्युका घटना अनलाइनमा दर्ता गरिएको छ ।

उनले व्यक्तिको घटना दर्तालाई अनलाइनमा राखी कागज विहीन बनाउने योजनाका साथ अहिले अनलाइन दर्ता गरिरहेको बताए । अनलाइनमा भएका कुनै व्यक्तिको विवरण खोज्दा सजिलै प्राप्त गर्न पुराना ढड्डा पल्टाउन नपर्ने भएकाले अनलाईनमा राखिएको पनि बताए ।

सात सय ५३ स्थानीय तहमा छ हजार ७४३ वडा कार्यालय रहेकामा अहिलेसम्म एक हजार ५८८ वडा कार्यालयले अनलाइनबाटै दर्ता गरिरहेका छन् ।

 

यसैगरी सामाजिक सुरक्षा भत्ता वितरणलाई व्यवस्थित बनाउन व्यवस्थापन सूचना प्रणाली सञ्चालन गरिएको छ । विभागले सामाजिक सुरक्षाभत्ता पाउने व्यक्तिको नामावली पनि अनलाइनमा राख्ने गरेको छ ।

सम्बन्धित व्यक्तिले मात्र सामाजिक सुरक्षा पाउन् भन्नका लागि अनलाइनमा व्यक्तिको विवरण राख्न थालिएको सूचना अधिकारी खिलप्रसाद अधिकारीले जानकारी दिए । उनले सूचना प्रणालीमा दर्ता भएका व्यक्तिले मात्र सामाजिक सुरक्षा भत्ता पाउने भएकाले व्यक्तिको नाम नदोहोरिने र अर्काले नपाउने भएकाले पनि यस्ताृ गरिएको बताए ।

विभागले अहिलेसम्म २३ लाख १४ हजार ५५१ जनाको नामावली अनलाइनमा दर्ता गराएको छ ।

प्रतिक्रिया दिनुहोस्