भरतपुर अस्पतालले साँझ र बिहान डाइलोसिस सेवा उपलब्ध गराउने

चितवन । भरतपुर अस्पतालले साँझ र बिहान पनि डाइलोसिस सेवा उपलब्ध गराउने भएको छ । गत भदौ १२ गतेदेखि अस्पतालले दैनिक दुई चरणमा डाइलोसिस सेवा शुरु गरेको थियो ।

पालो नपाएर कुर्नेको संख्या बढ्दै गएपछि साउनको पहिलो साताबाट सो सेवाको समय बढाउन लागिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रवीन खड्काले जानकारी दिनुभयो । बिरामीले पालो नपाएपछि अस्पतालले साँझ र बिहानसमेत डाइलोसिस सेवा उपलब्ध गराउने भएको हो ।

डाइलोसिस विभागका प्रमुख सञ्जय बरालले दिएको जानकारी अनुसार बिहान सात बजेदेखि राति १० बजेसम्म दैनिक तीन चरणमा सेवा सञ्चालन गर्न लागिएको छ । मिर्गौलामा जटिल समस्या भएका बिरामीलाई प्रत्यारोपण नगरेसम्म डाइलोसिस गर्नुपर्ने हुन्छ ।

एकजना बिरामीलाई हरेक हप्ता वा एक हप्ता बिराएर डाइलोसिस गर्नुपर्ने हुन्छ । सरकारले उक्त सेवा निःशुल्क उपलब्ध गराएको छ । दैनिक २० बिरामीले सेवा लिँदै आएको बताईएको छ, भने अस्पतालमा १० वटा डाइलोसिस मेसिन सञ्चानलमा रहेका छन् ।

सेवा प्रदान गरेबापत अस्पताललाई सरकारले रकम भूक्तानी गर्छ । जिल्लामा निजी क्षेत्रले सञ्चालन गरेका डाइलोसिस सेवामा गुनासो आउने गरेको छ । डाइलोसिस गर्न अधिकांश बिरामीको चाहना सरकारी अस्पताल हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्