अविरल वर्षाका कारण देशभर नै पहिरोको जोखिम, सात वर्षमा सोह्र सयको मृत्यु

काठमाडौँ । पछिल्लो सात वर्षमा बाढी पहिरोका कारण एक हजार ६७२ जनाको मृत्यु भएको छ । यस वर्षको हालसम्म २७५ जनाको निधन भएको छ ।

सरकारको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा बाढी पहिरोबाट ६८२ जना घाइते भएका छन्, भने अविरल वर्षाका कारण ५५ जनाको निधन भएको बताईएको छ । यस वर्षमात्रै रु ६६ करोड ७४ लाख ४३ हजार ६८२ बराबरको जनधनको क्षति भएको छ ।

यस वर्ष प्राकृतिक विपत्तिका कारण ४८ जना हराइरहेका छन्, भने दुई हजार १२१ जना घाइते भएका छन् । यस्तै महामारीका कारण पछिल्लो सात वर्षमा ९५ जनाको मृत्यु भएको छ भने ७९ जना घाइते भएका छन् ।

देशभर नै मनसुन सक्रिय भई भारी वर्षा शुरु भएको छ । मनसुनका कारण वर्षा बढी हुने क्रम शुरु भएकाले बाढी पहिरोको जोखिमसमेत बढ्दै गएको देखिएको छ ।

विशेषगरी मध्यपहाडी राजमार्गको अधिकांश खण्डमा पहिरोको जोखिम बढी रहेको छ । यस्तै महाभारत तथा पहाडी क्षेत्र, चुरे र महाभारत पर्वत शृङ्खलाको बीचको क्षेत्र, बुटवल–पाल्पा सडकखण्ड, नेपालगञ्ज–सुर्खेत–जुम्ला सडकखण्ड पनि पहिरोको उच्च जोखिममा बताईएको छ ।

धनगढी–डडेल्धुरा सडकखण्ड, बनेपा–बर्दिवास, ओखलढुंगा, सोलुखुम्बु, धादिङ, रसुवा, नुवाकोट, गोरखा, लमजुङ, पूर्व पहाडका धेरैजसो जिल्ला समेत पहिरोको जोखिममा रहेका छन् ।

यस्तै, बाढी पहिरोका कारण हुने मानवीय क्षति न्यूनीकरणका लागि सरकारले आवश्यक तयारी गरेको जनाएको छ । गृह मन्त्रालयका राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख शंकरहरि आचार्यका अनुसार बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपको क्षति न्यूनीकरणका लागि मुलुकका विभिन्न पाँच स्थानमा आपत्कालीन क्षेत्रीय भण्डारण गृहलाई तम्तयारी हालतमा राखिएको छ ।

राहत तथा उद्धारका लागि आवश्यक हेलकप्टर तम्तयारी हालतमा राखिएको छ । यस्तै सडक आवागमन सहज बनाउन नेपाली सेनासँगको समन्वयमा ‘हेभी इक्यूपमेन्ट’ परिचालन गर्ने गरी व्यवस्था मिलाइएको छ ।

साविकको क्षेत्रीय प्रशासन कार्यालयमा राहत तथा उद्धारका लागि योजनाबद्ध प्रयास गरिएको प्रमुख आचार्यको भनाइ छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मानवीय सहायता कक्षमा विपद्पछिको उद्धारका लागि त्रिपाल, खाद्य सामग्री तथा अन्य औषधोपचार सामग्री राखिएको छ ।

यस्तै सहयोगी संस्था, नेपाल रेडक्रस तथा अन्य संस्थालाई समेत राहत तथा उद्धारका लागि तम्तयारी हालतमा रहन आग्रह गरिएको छ । यस्तै स्थानीय तहमा पनि विपद् व्यवस्थापनका लागि समिति गठन गरी तयारीमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्