वर्षाले नेपालगञ्ज जलमग्न, सतर्क रहन प्रशासनको आग्रह
काठमाडौ । आइतबार साँझदेखि निरन्तर परेको वर्षाले नेपालगञ्ज तथा त्यसको आसपासका क्षेत्रहरु जलाम्मै भएको छ ।निरन्तर परीरहेको वर्षाका कारण नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँकेगाउँ लगायत स्थानमा पानी जमेर आवतजावतमानै कठिन भएको छ ।
जताततै पानी जमेपछि स्कूल तथा कलेज जाने विद्यार्थी जान पाएका छैनन् पैदलयात्रु पनि सजिलोसंग हिडडुल गर्न सकेका छैनन् ।
विभिन्न नाली तथा सडक निर्माणमा ढिलाइका कारण ढल निकासको व्यबस्थापन समयमा नहूँदा पानी आउने मुहान थुनिएर पानी जम्नाले यस्तो समस्या आएको हो ।
वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा बाढी आउछकी भन्ने चिन्ताले त्रसित बनेका छन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपत् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।
बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह दुई मिटर पुगेको छ । कुसुममा साढे पाँच मिटर सतह पुग्ने बित्तिकै राप्ती नदीको तल्लो तटीय क्षेत्रका दर्जनौँ गाउँ डुब्छन ।
बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिका अन्तर्गत नदी आसपासका नागरिकलाई सर्तकता अपनाउन तथा अग्लो सुरक्षित स्थानको समेत खोजी गर्न आग्रह गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।
प्रतिक्रिया दिनुहोस्