डेनमार्कलाई हराउँदै क्रोएसिया अन्तिम ८ मा प्रवेश

एजेन्सी । रुस विश्वकप २०१८ को अन्तिम १६ को चौथो खेलमा क्रोएसियाले डेनमार्कलाई ३–२ ले हराएको छ । नियमित र अतिरिक्त समय १–१ मा सकिएपछी खेल पेनाल्टीसम्म पुगेको हो ।

डेनमार्कले खेलको पहिलो मिनेटमै गोल गर्न सफल भएको थियो । माथियस जोर्जेन्सनले ५८ सेकेन्डमै गोल गर्दै टोलीलाई अग्रता दिलाए जुन गोल विश्वकप इतिहासमा डेनमार्कका लागि सबैभन्दा छिटो गोल पनि थियो ।

तर, खेलमा पछि परेको २ मिनेटमै क्रोएसियाले गोल फर्काएको हो । क्रोएसियाका लागि स्ट्राइकर मारियो मान्डजुकिचले गोल गरेका थिए । क्रोएसियाको यस विश्वकपमा शतप्रतिशत नतिजा रहेको छ ।

दोस्रो हाफ र अतिरिक्त समयमा गोल हुन नसक्दा खेल पेनाल्टीतर्फ मोडिएको थियो । सुट–आउटमा क्रोएसियाका गोलकिपर सुबासिचले ३ बचाऊ गर्दै टोलीलाई जिततर्फ डोर्‍याएका हुन् ।

क्रोएसिया समूह ‘डी’को समूह विजेताका रुपमा अन्तिम १६ मा छनोट भएको थियो भने डेनमार्क समूह ‘सी’ को उपविजेता हुन सफल भएको हो । यस अघि उरुग्वे, फ्रान्स र रुस अन्तिम ८ मा प्रवेश गरिसकेका छन् भने पोर्चुगल, अर्जेन्टिना र स्पेन बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्