बाढीको उच्च जोखिममा मोरङ जिल्लाका एक दर्जन बढी स्थान

मोरङ । मोरङ जिल्लाका एक दर्जन बढी स्थानहरु बाढीको उच्च जोखिममा रहेका छन् ।

नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार मोरङ जिल्लाका आधा दर्जन भन्दा ठूला नदीमा आउने बाढीका कारण वर्षेनि विभिन्न स्थानका बस्ती जोखिममा पर्ने गरेका छन् । बर्खा लागिसकेकाले सम्भावित विपतका बारेमा स्थानीय तहसँगको समन्वयमा रेडक्रसले सचेतनामूलक कार्यक्रम गरिरहेको छ ।

जिल्लामा बक्राहा, रतुवा, लोहन्द्रा, चिसाङ, सिंगिया, केशलियालगायत ठूला नदीले बर्सेनि ठूलो मात्रामा जनधनको क्षति र्पुयाउने गरेको रेडक्रस मोरङले जानकारी दिएको छ । रेडक्रसले तयार पारेको सूचीअनुसार बक्राहाका कारण सो नदीका आसपासका बासिन्दा अति जोखिममा रहेका छन् ।

बक्राहाका कारण मिक्लाजुङ गाउँपालिका– ६ मधुमल्ला, उर्लाबारी नगरपालिका–१ मेचेडाँगी, रतुवामाई नगरपालिका– ५ गोविन्दपुर, ९ र १० को इटहरा, सुनवर्षी नगरपालिका – ६ गाविन्दपुर र ७ को बरडंगा, पथरीशनिश्चरे–५ हसन्दहका बस्ती बाढीको अति जोखिममा रहेको बताइएको छ ।

यस्तै रतुवाका कारण रतुवामाई नगरपालिका– ८ र १० को इटहरा, ७ को सिजुवा, ३ को महादेवाका बस्ती बाढीको अति जोखिममा छन् । लोहन्द्रा नदीका कारण बेलवारी– ५ का मटियारी र धोकरधरका बस्ती पनि स्थलगत अध्ययनका क्रममा अति जोखिममा रहेको पाइएको रेडक्रस मोरङले बताएको छ ।

गडिया खोलाका कारण सोराभाग र केसलिया खोलाका कारण विराटनगर महानगरपालिका– १२ दरैयाबस्ती र ४ को इग्राही बाढीको अति जोखिममा छन् । रेडक्रसका अनुसार बाढीका कारण गत वर्ष मोरङमा १४ जनाको मृत्यु भएको थियो भने दुई जना बेपत्ता भएका थिए ।

विभिन्न खोलामा आएको बाढीका कारण गत वर्ष जिल्लामा तीन हजार पाँच सय बढी घरपरिवार विस्थापन भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्