अनसन बस्न जुम्ला पुगेका डा. केसि पक्राउ, जिल्ला प्रहरी कार्यालय भित्रै अनसन बस्ने चेतावनी

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा अनसन बस्न जाँदै गरेका डाक्टर गोविन्द केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

निषेधित क्षेत्रमा अनसन बस्न नदिने बताएको प्रशासनले डाक्टर केसीलाई जिल्ला प्रशासन कार्यालय छेउबाट शनिवार दिउँसो नियन्त्रणमा लिएको हो।

डाक्टर केसीको समर्थनमा उत्रिएका खलंगाबासीलाई पनि प्रहरीले धरपकड गरेको छ।

जुम्लामा रहेका डाक्टर केसीका सहयोगी किशोर केसीका अनुसार डाक्टर केसीले अनसन सुरु भएको घोषणा गरेपछि प्रहरीले धरपकड गर्दै उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयभित्र लगेको हो।

डाक्टर केसीले जिल्ला प्रहरी कार्यालयभित्रै अनसन बस्ने चेतावनी दिएका छन्।

‘भिड तोड्ने क्रममा प्रहरीले पक्राउ गरेको हो’ उनले भने, ‘डाक्टरसाव प्रहरी कार्यालयभित्रै अनसन बस्छु भन्नुभएको छ।’

डाक्टर केसीलाई प्रहरीले पक्राउ गरेपछि खलंगाका स्थानीय बासिन्दाले सडकमा उत्रिएर प्रशासनको विरोध गरेका छन्।

डाक्टर केसीले प्रतिष्ठानभित्रै अनसन बस्ने अडान लिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रतिष्ठान, जिल्ला प्रशासन र प्रहरी कार्यालयको दुई सय मिटर वरपर अनसन, धर्ना र जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र तोकिएको थियो। डाक्टर केसीले भने निषेधित क्षेत्र अवज्ञा गरिने बताएका छन्।

चिकित्सा क्षेत्रमा सुधार हुनुपर्ने माग गर्दै डाक्टर केसीले शनिबारदेखि जुम्लाबाट अनसन थालनी गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्