नेपाल बैंकको एफपिओमा हच्किए लगानीकर्ता
काठमाडौं । नेपाल बैंकको एफपिओ मा लगानीकर्ताले खासै रुचि देखाएका छैनन् । झण्डै बजार मूल्यको हाराहारीमा एफपिओ जारी गरेको बैंकले कूल एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ निष्काशन गरेकोमा पहिलो दिन सवा एक लाख कित्ताका लागि मात्र आवेदन पर्नुले लगानीकर्ता एफपिओ प्रति ईच्छुक नभएको पुष्टि हुन्छ ।
बैंकले शुक्रबारदेखि एक सय रुपैयाँ फेस भ्यालूमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँमा ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँको एफपिओ जारी गरेको छ ।

विहिबार नेपाल बैंकको दोस्रो बजारमा प्रतिकित्ता २९३ रुपैयाँमा कारोबार बन्द भएको थियो । बजार मूल्य भन्दा जम्मा १३ रुपैयाँ मात्र सस्तो भएपछि लगानीकर्ता बैंकको एफपिओमा लगानी गर्न उत्साहित छैनन् ।
बैंकको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आवेदन खुलेको पहिलो दिन एक हजार २५८ आवेदकले एक लाख २५ हजार ६५० कित्ताका लागि मात्र आवेदन गरेका छन् । रकमका आधारमा बैंकको एफपिओमा ३ करोड ५१ लख रुपैयाँ बराबरको आवेदन परेको छ । यो कुल सेयर संख्याको शुन्य दशमलव ७१ प्रतिशत आवेदन हो । निष्काशन भएको पहिलो दिनदेखि नै संस्थागत लगानीकर्तालाई पनि आवेदन खुलाइएको थियो तर संस्थागत लगानीकर्ताबाट कुनै आवेदन परेको छैन् ।
यस एफपिओमा लगानीकर्ताले न्युनतम ५० कित्तादेखि अधिकतम सीमाभित्र रहने गरी १० कित्ताको गुणाङ्कमा अधिकतम कित्तासम्म आवेदन गर्न सक्ने व्यवस्था छ । एफपिओ छिटोमा असार १९ गते निष्काशन बन्द हुनेछ भने सो अवधिमा विक्री नभएमा ढिलोमा साउन १३ गतेससम्म जारी हुने छ ।
एफपिओ निष्काशनसँगै बैंकमा सरकारको सेयर स्वामित्व घटेर ५१ प्रतिशत र सर्वसाधारणको स्वामित्व ४९ प्रतिशत पुग्नेछ ।
हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । एफपिओ निष्कासनपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्नेछ । एफपिओबाट बैंकलाई तीन अर्ब १८ करोड रुपैयाँ प्रिमियम संकलतन गर्नेछ भने एक अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी बढ्नेछ ।















प्रतिक्रिया दिनुहोस्