पर्यटकीय बस पार्किङ्ग क्षेत्र कान्तिपथबाट सोह्रखुट्टेमा

काठमाडौं । तीन दशकदेखि कान्तिपथबाट पर्यटकलाई ओहोरदोहोर गराएको कान्तिपथ पर्यटकीय बसपार्क काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा आजदेखि सोह्रखुट्टेमा सारिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखका अनुसार कान्तिपथको बाटोमा पार्किङ गर्दा धेरै सवारी चापले समस्या हुने र अत्याधिक सवारी साधन ओहोरदोहोर गर्ने ठाउँमा पार्किङ गर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेकोले सोह्रखुट्टेमा सारिएको हो ।

हाल कान्तिपथबाट प्रमुख पर्यटकीय गन्तव्य पोखरा, लुम्बिनी र चितवनको सौराहाका लागि करिब १०० बस आवतजावत गर्दै आएका छन् भने दैनिक झण्डै तीन हजार यात्रु ओहोरदोहोर गर्ने गर्दछन् । कान्तिपथ ठमेल, दरवारमार्ग वरपर बस्ने पर्यटकहरुको लागि केन्द्र रहेकोले कान्तिपथबाट पर्यटकीय बसपार्क सार्दा पर्यटकलाई समस्या पर्ने देखिन्छ । सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

पर्यटकीय बसहरुका लागि छुट्टै बसपार्क निर्माण गरेर व्यवस्थित गराउन व्यवसायीहरुले माग गरेका छन् । व्यवसायीले बसपार्कका लागि पटक पटक सम्बन्धित निकायमा पहल गरे पनि आवश्यक जग्गा नहुँदा अहिले अस्थायी रुपमा सोह्रखुट्टेमा उक्त पार्किङ्ग क्षेत्र सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्