ललितपुर जिल्लामा विरोध गर्न पाउने स्थान तोकियो

काठमाडौ । ललितपुर जिल्ला सुरक्षा समितिले तोकिएका स्थानमा बाहेक अन्य स्थानमा विरोध प्रदर्शन गर्न नपाउने निर्णय गरेको छ ।

ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले सुरक्षा समितिको बैठकले जिल्लाका ६ स्थानलाई विरोध प्रदर्शन गर्न पाउने स्थानका रुपमा तोकिएको जानकारी दिए । त्यस्तै तोकिएका स्थानमा बाहेक अन्यत्र नारा, जुलुस, भेला, जम्मा, विरोधलगायत कार्यक्रम गर्न नपाइने पनि जनाए ।

महानगरपालिकाको भित्र विरोध गर्न पाउने स्थानहरुमा च्यासलको खेल मैदान, भैँसेपाटी छयासीकोट नजिकैको खाली ठाउँ र धोबीघाट नजिक मलपोखरीको खुल्ला स्थानलाई तोकेको छ । महानगरपालिका बाहिर गोदावरीको बसपार्क नजिकको खाली ठाउँ, बज्रबाराही मन्दिर ढोका नजिकको खुला ठाउँ र लुभुस्थित सशम्भु चौरमा बिरोध गर्न पाइने निर्णय भएको परिषरले जनाएको चन्दले जानकारी दिए । यसअघि लगनखेल, जिल्ला प्रशासन कार्यालय अगाडि र कुपण्डोल हुँदै काठमाडौँसम्म विरोधका कार्यक्रम हुने गरेका थिए ।

गृह मन्त्रालयले काठमाडौ उपत्यकाका तीनवटै जिल्लामा विरोध गर्ने ठाउँ तोक्ने निर्देशन गरे अनुसार प्रमुख जिल्ला अधिकारी महादेव पन्थको अध्यक्षतामा बसेको समितिले सो निर्णय गरेको प्रहरी नायब उपरीक्षक चन्दले बताए । तोकिएका बाहेकका स्थानमा विरोध प्रदर्शन गर्न नपाइने र गरेको पाइएमा स्थानीय शासन सञ्चालन ऐन अन्तर्गत कारबाही हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्