खप्तड लघुजविद्युत आयोजनाको ६० प्रतिशत काम सम्पन्न

अछाम । साँफेबगर नगरपालिका–१२ खप्तडमा निर्माणाधीन ५२ किलोवाट खप्तड लघुजविद्युत आयोजनाको ६० प्रतिशत काम सम्पन्न भएका छ ।

आगामी कात्तिक महिनासम्म बाँकी ४० प्रतिशत काम सकेर विद्युत बाल्ने तयारीका भइरहेको खप्तड लघुजलविद्युत आयोजनाले जनाकारी दिएको छ । आयोजनाका लागि पावर हाउसको जेनेरेटर, टर्बाइन, ट्रान्सफमर लगायतका ठूला उपकरणहरु हेलिकेप्टरबाट ढुवानी भइरहेको बताईएको छ ।

वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र, साँफेबगर नगरपालिका, खप्तडको आर्थिक सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा काम अगाडि बढेको हो । साँफेबगर नगरपालिकाको रु ८ लाख, खप्तड वडा कार्यालयको रु ७ लाख र वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रको रु १ करोड १७ लाख ३० हजार बराबरको लागतमा काम भइरहेको छ ।

तर केही ठाउँमा भने विद्युतको तार जमिन मुनिबाट लिनुपर्ने भएकाले वातावरणीय प्रभाव परीक्षण गर्नुपर्ने समस्या देखिएको छ । सामान ढुवानीमा खप्तडमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाले पनि सहयोग गरिरहेको छ ।

२०६३ साल भदौ १० गतेको बाढी पहिरोले योजनाका पावर हाउस, कुलोलगायतका सबै उपकरण बगाएको थियो । करिब १२ बर्ष यता खप्तडका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका हुन् । आयोजना निर्माण सम्पन्न भए नेपाली सेनाको खप्तड व्यारेक, खप्तड राष्ट्रिय निकुञ्ज, खप्तड पर्यटन बोर्डका कार्यालय र साविकको खप्तड गाविसका ३४४ घरधुरी प्रत्यक्ष लाभान्वित हुने छन् ।

प्रतिक्रिया दिनुहोस्