आर्थिक वृद्धिलाई आठ प्रतिशतको हाराहारीमा पुगाउने लक्ष्य लिएका छौ : अर्थमन्त्री खतिवडा
काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले बजेटको प्रभावकारी कार्यान्वयका लागि तालिका बनाई आफु अघि बढ्ने बताएका छन् ।
प्रतिनिधिसभाको विहिवारको बैठकमा विनियोजन विधेयक, २०७५ अन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेट कार्यान्वयनका साझेदारहरू प्रदेश र स्थानीय तह पनि भएकाले उनीहरुको पनि क्षमता बढाउँदै केन्द्रले परिपूरकको भूमिका निर्वाह गर्ने बताए ।
बजेटले ज्येष्ठ नागरिकका लागि बीमा सुविधा र बालबालिकका लागि बाल संरक्षण कार्यक्रम, किसान, कर्मचारीलगायत सबैलाई समेटेको चर्चा गर्दै उहाँले यस्तै कार्यक्रमबाट अपेक्षित आर्थिक वृद्धि हुने बताउनुभयो ।
उनले राजश्वबाट प्रशस्त साधन र स्रोत तलका तहमा पठाइएको र सोही आधारमा योजना पनि हस्तान्तरण गरिएको जानकारी गराउँदै मन्त्री खतिवडाले बजेटमा पहिलोपटक आठ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिइएको बताएका हुन् ।
उनले जनसंख्या र भूगोलमा कुनै एकको मात्र आधार नलिइ दुबै बीचको सन्तुलन मिलाई बजेट विनियोजन गरिएको र केही संस्थानमा विनियोजन भएको बजेट पनि संस्थागत सुदृढीकरणका लागि भएको स्पष्ट पारेका छन् ।
अर्थमन्त्री खतिवडाले राजश्व पनि नबढाउने, विदेशी सहयोग पनि नलिने अनि खर्च जति पनि गर्ने भन्ने अर्थशास्त्रको नियम हुन सक्दैन भन्दै उनले बजारको मूल्यवृद्धि पनि बजेटसँग सम्बन्धित नभई एकाधिकार कायम गर्न खोज्नेले फैलाएको हल्ला मात्र भएको दावि गरे ।
पूँजीगत खर्चभन्दा चालु खर्च बढी भएको भन्ने सांसदको प्रश्नमा अर्थमन्त्री डा खतिवडाले चालु खर्चभित्र पनि केही बजेटको प्रकृति पूँजीगत भएको उल्लेख गर्नुभयो । कर प्रणालीका सम्बन्धमा उहाँले प्रगतिशील कर प्रणाली शुरु गरिएको अवगत गराउनुभयो ।
भ्रष्टाचार नियन्त्रणमा सरकारले शून्य सहनशीलताको नीति अपनाएको छ भन्दै उनले नीति तथा कार्यक्रममा आएका कतिपय कार्यक्रम बजेटमा देखिएनन् भन्ने सन्दर्भमा त्यस्ता विषय प्रदेश र स्थानीय तहमा रहेको जानकारी दिए ।
उनले भूकम्पपछिको पुनः निर्माणका काम सन्तोषजनक रुपमा अघि बढेको र सामाजिक सुरक्षाका विषयमा पनि आगामी दिनमा थप काम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री डा खतिवडाले कर्मचारीका लागि प्रोत्साहन स्वरूप थप भत्ताको व्यवस्था नभएको, व्यक्तिगत करमा धेरै वृद्धि नगरिएको र विलाशिताका सामानमा मात्र केही मात्रामा कर बढेको बताएका हुन् ।
विहिवारको बैठकमा सांसदहरु दिलेन्द्रप्रसाद बडू, ज्ञानेन्द्रबहादुर कार्की, रामबहादुर विष्ट, प्रेम सुवाल, प्रकाश रसायली, बिमलप्रसाद श्रीवास्ताव, तेजुलाल चौधरी, सुजिता शाक्य, मोहन बानियाँ, सरिताकुमारी गिरि, गजेन्द्रबहादुर महत, मेटमणि चौधरीले प्रतिप्रश्न गरेका थिए ।















प्रतिक्रिया दिनुहोस्