धादिङमा पहिरोमा पुरिएर पाँचजनाको ज्यान गयो, पाँच घाइते, नौ घरमा क्षति

धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साइस्वाराँ र चिउरीखर्कमा गएराति पहिरो जाँदा दुई घरका पाँचजनाको ज्यान गएको छ ।

अबिरल वर्षाका कारण घरमाथिबाट पहिरो जाँदा राजु गोलेको घर पूर्णरुपमा क्षति भएको छ । घटनामा राजुकी श्रीमती ३६ वर्षीया बसोधा गुरुङ, छोरी १० वर्षीया लक्ष्मी गुरुङ र ५ वर्षीया सरस्वती गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिएका छन् ।

पहिरोमा गोले सकुशल छन् भने उनका छोरा १२ वर्षीय विकास घाइते भएकाले स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि सदरमुकामतर्फ लगिएको छ ।

यस्तै, सोही गाउँपालिका–४ चिउरीखर्कमा घरमाथिबाट आएको पहिरोले शमशेर घलेको घर पनि पहिरोले पुरेको छ । पहिरोमा पुरिएका ६५ वर्षीय शमशेर घले र उनकी श्रीमती कोप्ची घलेको मृत्यु भएको प्रहरीले बताएको छ ।

राति सुति रहेको अवस्थामा पहिरो आएपछि उनीहरु कँही भाग्न नसकेर पुरिएका हुन् । मृतकको शव विहिवार बिहानमात्र प्रहरीले गाउँलेको सहयोगमा निकालेको जनाएको छ ।
सोही वडाको टोड्केमा पहिरो आएर हरिबहादुर रिजाल, लालबहादुर थापामगरको घरमा पनि क्षति पुगेको छ । गाउँ माथिबाट पहिरो आएका कारण सो क्षेत्रको खड्करी गाउँका १२ घर रातिदेखि जोखिम बढेपछि विस्थापित भएर मड्किला गाउँमा आश्रय लिएर बसेको स्थानिय गोपाल रिजालले जानकारी दिए ।

लगातारको पानीका कारण गाउँमाथिबाट पहिरो खस्न थालेपछि एकबहादुर थापामगरसहितका १२ परिवारले राति नै गाउँ छाडन पुगेका छन् ।
लगातार वर्षाका कारण आएको पहिरोमा परेर ६९ वर्षीय हीरामायाँ तामाङ, ६५ वर्षीय सन्तमान तामाङ र ६० वर्षीया मीनाकुमारी श्रेष्ठ घाइते भएकाले उपचारका लागि स्वास्थ्यचौकी लगिएको छ ।

खनीयाबास गाउँपालिका–४, पाख्रीबोटमा पहिरो गएर तीन घर पुरिएको छ । घटनामा २३ वर्षीय रविन गौतम, २३ वर्षीया कल्पना गौतम तथा दुई वर्षीया रेश्मी गौतम घाइते भएका छन् ।

नेत्रावती डपजोङ गाउँपालिका–१ मार्पाकस्थित ढोकरपुर गाउँमा पहिरो गएपछि पाँच घरमा क्षति पुगेको छ । गाउँका दीपक गुरुङ, मानबहादुर गुरुङ, सन्तमान गुरुङ, वीरबहादुर गुरुङ तथा दलमान श्रेष्ठको घर पहिरोले पुरेको हो ।

घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ । वर्षाका कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सडक भत्किएकाले सदरमुकामबाट मोटर जान सकेको छैन जसले गर्दा दार्खास्थित इलाका प्रहरी कार्यालयमा रहेका प्रहरीको टोली विभिन्न घटनास्थलमा गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्