विश्व कपमा समूह चरणका अन्तिम ४ खेल आज

(एजेन्सी) । रसियामा जारी विश्वकपमा आज हुने ४ खेलसँगै समूह चरणका सबै खेल समाप्त हुनेछन् । नकआउट चरण पुग्ने १४ टोलीको टुंगो यसअघि नै लागिसकेको छ भने आजको खेलबाट अन्तिम २ टोलीको टुंगो लाग्नेछ । समूह ‘एच’बाट नकआउट चरणमा कुन टोली पुग्ने टुङ्गो आज हुने २ खेलबाट हुनेछ ।

समूहको शीर्ष स्थानमा रहेको जापान र सेनगलको समान ४ अंक छ । कोलम्बियाको ३ अंक छ भने प्रतियोगिताबाट बाहिरिसकेको पोल्यान्डले अंक जोड्न सकेको छैन । समूह चरणको अन्तिम खेलमा जापानले पोल्यान्डको र सेनेगलले कोलम्बियाको सामना गर्नेछ ।

आजै समूह ‘जी’का पनि अन्तिम २ खेल हुनेछन् । जसमध्ये नकआउट चरणमा पुगिसकेका इङ्ल्यान्ड र बेल्जियमबीचको खेलले समूह विजेताको टुंगो लाग्नेछ । पानामा र ट्युनिसियाको खेल भने प्रतिष्ठानका लागि मात्र हुनेछ । दुवै टोली प्रतियोतिगाबाट बाहिरिसकेका छन् ।

इङ्ल्यान्ड र बेल्जियम भने यसअघि लगातार दुई खेल जित्नै नकआउट चरणमा पुगिसकेका छन् ।

एसियाली मुलुकबाट नकआउट चरण पुग्ने सम्भावना अब जापानको मात्र बाँकी रहेको छ । प्रतियोगिताबाट बाहिरिएपनि समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियालले साविक विजेता जर्मनीलाई २–० ले स्तब्ध पारेको छ ।

जापानले पोल्यान्डलाई हराउन सके टोली नकआउट चरण पुग्नेछ । बराबरी वा हारले पनि टोली अघि बढ्ने सम्भावना रहन सक्छ । त्यसका लागि अर्को खेलको नतिजामा भर पर्नुपर्नेछ । सेनेगलले कोलम्बियालाई वा कोलम्बियाले सेनेगललाई हराएको खण्डमा जापान पोल्यान्डसँग पराजित भएपनि अघि बढ्न सक्नेछ ।

विश्व कपमा आज हुने खेल
समूह ‘एच’
जापानविरुद्ध पोल्यान्डः साँझ ७ः४५ बजे
सेनेगलविरुद्ध कोलम्बियाः साँझ ७ः४५ बजे
समूह ‘जी’
इङ्ल्यान्डविरुद्ध बेल्जियम रातीः ११ः४५ बजे
पानामाविरुद्ध ट्युनेसिया रातीः ११ः४५ बजे

प्रतिक्रिया दिनुहोस्