अवरुद्ध भएको वर्षामापन यन्त्र पुन : सञ्चालनमा

अछाम । अछामको सुन्दर नगरी क्षेत्रको रुपमा रहेको कमलबजारमा करिव ३ वर्ष अगाडि स्थापना भएको वर्षामापन केन्द्र सञ्चालनमा आएको छ । २०७३ सालमा स्थापना भई बीचमा अवरुद्ध भएको वर्षामापन यन्त्र कमलबजार नगरपालिकाको पहलमा पुनः सञ्चालनमा आएको हो ।

बिचमा बन्द अवस्थामा रहेको वर्षामापन केन्द्र कमलबजार नगरपालिकाको आर्थिक सहयोगमा पुनः सञ्चालन आएको हो । तत्कालिन अवस्थामा यूनिसेफ र नेपाल रेडक्रस सोसाइटी, अछाम शाखाको पहलमा नौ लाखको लागतमा स्थापना गरिएको वर्षामापन केन्द्रमा रहेको सोलार प्यानल चोरी भएपछि अवरुद्ध भएको थियो । पुन, सञ्चालनमा आएपछि जिल्लामा बाढी र प्रकोपको अवस्थाबारे जानकारी पाउन सहज हुने स्थानियको भनाई रहेको छ ।

विशेषगरी अछाम क्षेत्र नम्बर २ र समग्रमा अछाम जिल्लाको तापक्रम मापन, वर्षा मापन र पानीको मात्रा बढेर जोखिम अवस्था सिर्जना हुँदा तथा नदीमा पानीको बहाव बढेर जोखिम अवस्था आउँदा यस यन्त्रले जिल्ला प्रशासन कार्यालयमा रहेको आपत्कालीन सञ्चारमार्फत साइरन बज्ने र सूचना दिने गरेको छ ।

यो वर्षामापन केन्द्र सञ्चालनमा आएसँगै प्राकृतिक प्रकोप, बाढी पहिरोबाट जनधनको क्षति हुनुपूर्व सचेतना अपनाउन सहज हुने नगरपालिकाले जनाएको छ । यो वर्ष कमलबजार नगरपालिकाले रु चार लाख २६ हजार बजेट विनियोजन गरी सोलार प्यानल र अन्य व्यवस्थापनलाई प्रभावकारी बनाएपछि यन्त्र सुचारु भएको हो ।

प्रतिक्रिया दिनुहोस्