राष्ट्रपति ट्रम्पको निर्णयलाई सर्वोच्च अदालतद्वारा सदर, ६ मुस्लिमसहित ८ राष्ट्रलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष ६ मुस्लिमसहित विभिन्न ८ राष्ट्रलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध त्यहाँको सर्वोच्च अदालतले सदर गरेको छ ।

ट्रम्पले गत वर्ष मुसलमान बहुल ६ देशसहित ८ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकहरूलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । यो निर्णयले ट्रम्पको अन्तर्राष्ट्रिय जगतमा आलोचना भएको थियो ।

तर त्यहाँको सर्वोच्च अदालतले ट्रम्पको निर्णय सदर गरिदिएको छ । न्यायाधीशको मत अनुसार हुने फैसलामा ४ न्यायाधीशले सदर गर्न नहुने अडान लिएका थिए भने ५ ले समर्थन जनाएका थिए । ट्रम्पको पक्षमा १ न्यायाधीश बढी देखिएपछि ट्रम्पको कदमले वैधानिकता पाएको न्यूयोर्क टाइम्समा लेखिएको छ ।

एकपछि अर्को धक्का खाइरहेका ट्रम्पको पक्षमा भएको यो फैसलालाई उनको अहिलेसम्मकै ठूलो जितका रुपमा विश्लेषण गरिएको छ । ट्रम्पले फैसलालगतै ट्वीट गरेर खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्