निर्वाचनमा खटाइने कर्मचारी गोलाप्रथाबाट छनोट तर कार्यान्वयनमा ढिलाई

काठमाडौं । आगामी निर्वाचनमा कर्मचारी गोलाप्रथाबाट खटाइने भनेता पनि गोलाप्रथाबाट बनेको सूची दुई दिन पनि टिक्न नसकेको भन्दै सम्बद्ध कर्मचारी आक्रोशित बनेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी खटाउनमा गोलाप्रथाको सिस्टम विगार्दै मनपरी गर्न शुरु गरेको केही असन्तुष्ट कर्मचारीको भनाइ छ ।

निष्पक्षता तथा भएरहितका लागि भन्दै कर्मचारी छनोट गरेर शुरुमा नै राम्रो सन्देश दिएको जिल्लाको मुख्य निर्वाचन कार्यालय अन्तिममा आएर विवादमा फसेको छ ।

गोला प्रथाबाट मतदान अधिकृत र सहायक मतदान अधिकृत छनोट गर्न भनिए पनि जिल्ला निर्वाचन कार्यालय, प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृत बसेर गोलाप्रथामा नै तलमाथि गरिएको आशंका केही कर्मचारीले गरे । योपटक गोलाप्रथा गोलमाल पार्न केही कर्मचारी र कार्यालय लागेको कर्मचारी विकास चौलागार्इंको दाबी छ ।

बढी भत्ताको लोभमा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखले आफ्ना नजिकका भाइ छिमेकी आफन्त लगायतको नामसमेत मतदान अधिकृत र सहायक मतदान अधिकृतमा पठाउन सफल भएको नाम नभन्ने शर्तमा एक मतदान अधिकृतले बताए । यसबारे प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापालाई सोध्दा कर्मचारी खटाउन गोलाप्रथामा कुनै चलखेल नभएको र गोलाप्रथाकै आधारमा मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाइएको बताए ।
मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले गोला प्रथाबाट कर्मचारी छनोट गरिसकेको र बिरामी सरुवा भएका कर्मचारी र जान्न भनेका केही कर्मचारीबाहेकको सूची तलमाथि नगरिएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्