भीमफेदी दुर्घटनाः चक्रघट्टा गाउँपालिकाले आज शुक्रबार शोक बिदा

काठमाडौं, २७ कार्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा गाउँपालिकाका स्थानीय नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शुक्रबार शोक बिदा दिएको छ ।

गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवद्वारा जारी सूचनाअनुसार शुक्रबार गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाबाहेकका नियमित सेवा प्रवाह हुने कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयलगायत गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा एक दिनका लागि शोक बिदा दिइएको छ ।

शोक बिदाका दिन स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवा भने नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्