संसदमा प्रधानमन्त्रीको जवाफ : चीन भ्रमण सोचे भन्दा बढी उपलब्धिमूलक भएको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे संघीय संसदलाई मंगलवार जानकारी गराएका छन् ।

असार ५ देखि १० गतेसम्म प्रधानमन्त्री ओलीले गरेको चीन भ्रममणका क्रममा भएका दुईपक्षीय सम्झौतालगायत विषयमा प्रधानमन्त्री ओलीले संघीय संसदलाई जानकारी गराएका हुन् । उनले चीन भ्रमण सोचे भन्दा बढी उपलब्धिमूलक रहेको बताए ।

प्रतिनिधिसभाकोे बैठकमा उनले चीनको ६ दिने औपचारिक भ्रमणका बारेमा बाहिर विभिन्न ढंगले गरिएका टिकाटिप्पणी र अनुमानले अन्यौल श्रृजना गरेको हुन सक्ने भन्दै आफूले यथार्थ सदन समक्ष राख्न जरुरी ठानेको बताए ।

सडक सुरक्षाका बारेमा बहुआयामिक सम्पर्क सञ्जाल भित्र रेल्वे, सडक बन्दरगाह र संञ्चारलगायत क्षेत्रमा सहयोग अघि बढाउने विषयमा सहमति भएको तथा दुई देशबीचको सम्बन्धको विस्तारमा आगामी दिशानिर्देश गर्न १४ बुँदे संयुक्त विज्ञप्ति पनि जारी भएको पनि उनले जानकारी दिए ।

रेलवे कनेक्टिभिटी सहयोग सम्बन्धी समझदारी सबैभन्दा महत्वपूर्ण रहेको बताएका छन् । यसको कार्यान्वयनबाट केरुङ, रसुवागढी काठमाण्डौ रेलमार्ग विकासका लागि चिनियाँ अनुदानमा पूर्व संभाव्यता अध्ययन शीघ्र सम्पन्न भई सहयोगसम्बन्धी कार्य अघि बढ्ने र यसले काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको आधार तयार हुने विश्वास प्रधानमन्त्रीले व्यक्त गरे ।

नेपालको पूर्वाधार विकासमा सहयोग उपलब्ध गराउने विषयमा पनि चिनियाँ नेतृत्वसँग सकारात्मक कुराकानी भएको र दुवै पक्ष स्थल तथा हवाई सम्पर्कको विस्तार गर्न स्थल यातायातका पूर्वाधार सुदृढ गर्न तथा उत्तर दक्षिण जोड्ने यातायात सञ्जाललाई थप सुदृढ बनाउने विषयमा पनि सहमति भएको उनले जानकारी दिए ।

सिधा हवाई सेवा सञ्चालनका लागि दुवै मुलुकले आआफ्ना देशका एयरलायन्स कम्पनीलाई अभिप्रेरित गर्न पनि सहमति भएको उनले जानकारी दिए ।

सीमा वारपार प्रशारण लाइन निर्माणका सम्बन्धमा केरुङ–रसुवागढी–गल्छी–रातामाटे ४०० केभी प्रशारण लाइनको संभाव्यता अध्ययन गर्नेसम्बन्धी सम्झौतामा नेपाल विद्युत प्राधिकरण र चिनियाँ स्ट्रेट ग्रिड कर्पोरेशनबीच हस्ताक्षर भएको उनले स्पष्ट पारे ।

तातोपानी खासा नाका सन् २०१९ को मे महिना सम्ममा सञ्चालन गर्ने र रसुवागढी केरुङ नाकालाई सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण तथा मर्मत गर्न दुवै पक्ष सहमत भएको जानकारी प्रधानमन्त्रीले सदन लाई जानकारी गराए ।

तेल तथा ग्यासको अन्वेषणको संभाव्यता अध्ययनका लागि सहयोग उपलब्ध गराउन पनि चिनियाँ पक्ष सकारात्मक रहेको उनले जानकारी दिए ।

प्रधानमन्त्रीले राष्ट्रपतिको तर्फबाट चीनियाँ राष्ट्रपतिलाई र आफूले समकक्षी चिनियाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्ता दिएको र चीनको नेतृत्वबाट चाँडै नै नेपालको भ्रमण हुने विश्वास आफूले लिएको बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दिलेन्द्र प्रसाद बढुले चीनसँग ट्रान्जिट ट्रान्सपोर्ट एक्जिट प्रोटोकलमा हस्ताक्षर किन हुन सकेन ? भन्ने प्रश्नमा प्रधानमन्त्रीले आउँदो जुलाईमा प्रोटोकल तयार हुने र हस्ताक्षर पनि हुने बताए । प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा रेल्वे, ऊर्जालगायत विषयमा सरकारी १३ वटा र निजी ९ वटा गरी जम्मा २२ वटा सहमति भएको स्पष्ट पारे ।

भ्रमणका क्रममा आफूले राष्ट्रपति, प्रधानमन्त्री, चिनियाँ राष्ट्रिय जन कांग्रेसका अध्यक्षसँग , तिब्बत जनसरकारका प्रमुख अध्यक्षलगायतसँग भेट गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्