शक्ति र पदको दम्भ नदेखाउन रवि लामिछानेको निर्देशन, जनताको मत दुरुपयोग नगर्न चेतावनी
काठमाडौं, २० कार्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद, नेता तथा कार्यकर्तालाई शक्ति र पदको दम्भ त्याग्न निर्देशन दिएका छन्।
शुक्रबार चितवनमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै लामिछानेले जनताले दिएको अभिमतलाई व्यक्तिगत स्वार्थ र शक्तिको प्रदर्शन गर्ने माध्यम नबनाउन चेतावनी दिएका हुन्।
पार्टी ठूलो भएको र राज्यका महत्वपूर्ण निकायमा पहुँच पुगेको भन्दै कसैले पनि अहंकार देखाउन नहुने उनको भनाइ थियो।
‘आज हामी ठूला पार्टी भयौँ, हाम्रा हातमा पुलिस छन्, हाम्रा हातमा सीडीओ छन् भन्ने दम्भ त्याग्नुपर्छ,’ उनले भने, ‘जनताले दिएको यो अभिमत जनताकै हुर्मत लिनका लागि दुरुपयोग नगर्नुहोला। पार्टीले यो सबै नियालिरहेको छ।’
शक्ति प्राप्त भएपछि जिम्मेवारी र जवाफदेहिता पनि बढ्ने उल्लेख गर्दै उनले नेता तथा कार्यकर्तालाई आफ्ना अभिव्यक्ति र गतिविधिमा संयमित हुन आग्रह गरे।
लामिछानेले पार्टीभित्र सांसद बनेका नेता र सँगै राजनीतिक संघर्ष गरेका अन्य कार्यकर्ताबीच दूरी बढ्न थालेको विषयमा समेत चिन्ता व्यक्त गरे। सांसद बनेपछि पुराना सहकर्मीलाई बेवास्ता गर्ने र अवसर नपाएका कार्यकर्ताले सांसद बनेका साथीप्रति ईर्ष्या गर्ने प्रवृत्ति दुवै गलत भएको उनले बताए।
सँगै संघर्ष गरेका साथीले जिम्मेवारी पाउँदा खुसी हुनुपर्ने र अवसर नपाएकाले पनि भविष्यमा आफ्नो पालो आउने विश्वासका साथ संगठनमा क्रियाशील रहनुपर्ने उनको भनाइ थियो।
‘साथीले प्रगति गर्यो भन्दैमा आरिस गर्ने र सँगै भएको साथी तल पर्यो भनेर खिचातानी गर्ने दुवै प्रवृत्ति गलत छन्,’ उनले भने, ‘यसलाई सच्याएर हामी एकै ठाउँ उभिनुपर्छ।’
यसैगरी, आसन्न निर्वाचनलाई लक्षित गर्दै लामिछानेले पार्टीका नेता तथा कार्यकर्तामा माथिल्लो पदप्रतिको आकांक्षा बढेको भन्दै व्यङ्ग्य गरेका छन्।
वडा तहको नेतृत्व लिनसमेत कार्यकर्ताहरू इच्छुक नदेखिएको तर सबैको ध्यान पालिका र माथिल्लो पदमा केन्द्रित भएको उनको टिप्पणी थियो।
‘हाम्रा साथीहरू वडाध्यक्ष हेर्दैनन्, एकैचोटि सभापति, पालिका र माथि हेर्छन्। यहाँ कसैलाई वडाध्यक्ष हुन मन छैन,’ उनले व्यङ्ग्य गर्दै भने, ‘अब यो वडामा चुनाव लड्न म आफैँ राजीनामा दिएर आउनुपर्ला जस्तो छ।’
लामिछानेले पार्टीको संगठन बलियो बनाउन पदको आकांक्षाभन्दा जिम्मेवारी, अनुशासन र सामूहिक भावनालाई प्राथमिकता दिनुपर्ने सन्देश दिएका छन्। जनताको विश्वासबाट प्राप्त राजनीतिक शक्तिलाई जनताकै हितमा प्रयोग गर्नुपर्ने उनको जोड थियो।






















प्रतिक्रिया दिनुहोस्