एसईईमा देखिएको रिजल्टको त्रुटिको छानबिन गर्न समिति गठन

काठमाडौं । गत शनिबार प्रकाशित एसईईको रिजल्टमा देखिएका प्राविधिक त्रुटि बारे छानबिन गर्न समिति गठन भएको छ । उक्त समिति गठन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको छ ।

रिजल्टलाई लिएर चौतर्फी आलोचना भएपछि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भुराज रेग्मी र इभेन्ट परियोजनाका उपसचिव दिनेश खनाल छन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरबाट गत शनिबार प्रकाशित परीक्षाफलमा प्राविधिक समस्या पहिचान गरी समाधान गर्दा पूर्वप्रकाशित परीक्षाफलमा केही परीक्षार्थीको मूल अभिलेख बमोजिम परीक्षाफल संशोधन भएपनि उक्त नतिजामा देखिएको त्रुटिका सम्बन्धमा यथार्थ अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयले निर्देशन दिएको छ । त्यस्तै गठित समितिले आगामी दिनहरुमा यस्तो समस्या आउन नदिन र यसले पारेको असर नदोहोरीन अपनाउनुपर्ने उपाय तथा समाधानका उपायवारे जानकारी दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्