बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ मन्त्री दिने क्रम आजदेखि शुरु

काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को लागि पेसित बजेटमाथिको मन्त्रालयगत छलफलमा संसदमा उठेका प्रश्नहरुको जवाफ दिने काम सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले आजबाट शुरु गर्ने छ ।

अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेटमाथि सांसदहरुले धारणा राख्ने र आफ्नो मन्त्रालयका विषयमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने प्रावधान अनुसार आजबाट मन्त्रीले जवाफ दिन लागेका हुन् ।

पहिलो दिन ७ मन्त्रीले जवाफ दिने छन् । संघीय संसद् सचिवालयका अनुसार आज सञ्चार, खानेपानी, कृषि, कानून, पर्यटन, युवा तथा खेलकुद र महिला बालिकालिका मन्त्रीले आफ्ना मन्त्रालयको बजेटमाथि सांसद्ले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

जवाफ दिने क्रम १४ गतेसम्म चल्ने संसद् सचिवालयले जनाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ मा बजेट सार्वजनिक गरेपछि बजेटमाथिको छलफल संसदमा शुरु भएको थियो । यो क्रममा सांसदहरुले बजेटमाथि प्रश्न उठाएका छन् । स्वयं सत्तापक्षका सांसदहरुले समेत बजेटमाथि रुष्ट हुँदै जवाफ मागेका थिए ।

सरोकारवाला मन्त्रीले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि बजेट पारित गर्ने प्रक्रिया शुरु हुनेछ । आगामी आर्थिक वर्षको बजेट असार मसान्तभित्रै पारित गर्नुपर्ने कानूनी प्रावधान छ । यस बजेटलाई राष्ट्रपतिले अनुमोदन गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्