देवरको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको मृत्यु
काठमाडौं, २९ असोज । गुल्मीको मालिका गाउँपालिका(२ खोलाखर्कमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको तीन दिनपछि मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ९एसपी० भीमकीरण बोगटीका अनुसार मालिका गाउँपालिका–२ खोलाखर्ककी ४१र४२ वर्षीया लिला खत्रीको मृत्यु भएको हो ।
घटनामा संलग्न रहेको आरोपमा ४६ वर्षीय देवर बलबहादुर खत्रीविरुद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार असोज २५ गते साँझ करिब ७ बजे मादक पदार्थ सेवन गरी आएका बलबहादुरले आफ्नै भाउजू लिलामाथि कुटपिट गरेका थिए । कुटपिटबाट लिलाको टाउकोमा चोट लागेको थियो ।
घटनाबारे सोही दिन साँझ ७ः३० बजे प्रहरी चौकी पौदीअमराईमा जानकारी पुगेपछि प्रहरी सहायक निरीक्षक उदयभान यादवको कमान्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले गम्भीर घाइते लिलालाई उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाएको थियो ।
घटनापछि प्रहरीले कुटपिटमा संलग्न बलबहादुर र उनका ७६ वर्षीय बुबा भक्तबहादुर खत्रीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा कुटपिटमा बलबहादुर संलग्न रहेको खुलेपछि उनका बुबा भक्तबहादुरलाई छाडिएको थियो । बलबहादुरलाई भने थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मी पठाइएको थियो ।
गम्भीर घाइते लिला उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा रहेकी थिइन् । असोज २८ गते बिहान करिब ११ बजे उनका छोरा हिराबहादुर खत्रीले उनलाई अस्पतालबाट घर लैजाँदै थिए ।
घर लैजाने क्रममा बाटोमा लिलाको अवस्थाबारे शंका लागेपछि दिउँसो करिब उनलाई गुल्मी अस्पताल तम्घासमा जाँचका लागि लगिएको थियो । अस्पतालका चिकित्सकले सोही दिन दिउँसो उनलाई मृत घोषणा गरेका थिए ।
त्यसपछि घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको कमान्डमा टोली खटिएको थियो । सोही दिन साँझ शव परीक्षणपछि मृतकका छोरा हिराबहादुरले शव बुझेका थिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमकीरण बोगटीका अनुसार बलबहादुर खत्रीविरुद्ध ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको बताए ।







प्रतिक्रिया दिनुहोस्