विश्वकपमा समूहको अन्तिम चरण आजबाट हुदै, दुई खेल एकसाथ खेलाइने

काठमाडौं । रुसमा जारी विश्वकप फूटबल प्रतियोगितामा आजबाट समूहका अन्तिम चरणका खेलहरू हुँदैछन् ।

प्रतियोगितामा सहभागी ३२ वटै टोलीले २–२ खेल खेलिसकेका छन् । समूहमा अब सबैले १–१ खेल खेल्न बाँकी छ ।

आज सोमबार ४ खेल हुँदैछन् । बेलुका पौने ८ बजे समूह‘ए’ का साउदी अरेबिया र इजिप्ट तथा उरुग्वे र रुस भिड्नेछन् भने राति पौने ११ बजे समूह ‘बी’ का इरान र पोर्चुगल तथा स्पेन र मोरक्को आमनेसामने हुने भएका छन् ।

रुस र उरुग्वे दुवै नकआउट चरणमा प्रवेश गरिसकेकाले आजको खेल समूह विजेता टुंगो लगाउन निर्णायक हुनेछ । इजिप्ट र साउदीले भने प्रतिष्ठाका लागि खेल्दै छन् ।

समूह ‘बी’ मा भने समीकरण रोचक छ । मोरक्कोका लागि आजको खेल अन्तिम हुने पक्का भए पनि बाँकी तीनमध्ये कुन एक टीम मोरक्कोसँगै घर फर्किँदैछ भन्ने टुंगो लाग्न बाँकी छ ।

मोरक्कोलाई पराजित गर्न सके वा बराबरी खेलेमा पनि स्पेन अघि जानसक्छ भने पोर्चुगललाई पनि इरानसँग अंक खोस्नै पर्ने बाध्यता छ ।

यस्तै पोर्चुगललाई हराउन सके इरान पनि अघिललो चरणमा पुग्ने सम्भावना जीवित छ । यी ३ मध्ये २ टोली अघिल्लो चरणमा जान सक्छन् । तीनवटै टीमलाई इलिमिनेसनको खतरा पनि कायम छ ।

यस्तै, यसअघिका हरेक खेल फरक–फरक समयमा हुँदै आएकोमा अब एकसाथ २–२ खेल हुँदैछ । अझै प्रस्ट पार्नुपर्दा एक समूहका दुवै खेल एकै समयमा हुनेछ ।

किन एकसाथ दुई खेल खेलाइएको भन्ने जिज्ञासा हुनसक्छ । यसको मुख्य कारण हो, एक खेलको नतिजाले अर्को खेललाई प्रभावित नपारोस भन्ने सतर्कता ।

एउटा खेलको नतिजाले अर्कोमा प्रभाव नपारोस भन्नका लागि विश्वकपमा समूहका अन्तिम खेल एकसाथ खेलाउने गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्