कलशयात्रा सम्पन्न
काठमाडौँ २५ असोज। रौनियार संस्कृति पूजा समाजले वडादशमीको पहिलो दिन आज कलशयात्रा सम्पन्न गरेको छ।
हनुमानढोकास्थित तलेजु मन्दिरबाट सुरु भएको उक्त यात्रा टेकुस्थित रौनियार सेवा समितिको परिसरमा समापन गरिएको हो। कार्यक्रममा सो समुदायका करिब एक सय ५० महिलाले कलश बोकेका थिए।
यसैगरी परिसरमा देवीको मूर्ति स्थापना गरी नवरात्रिको पूजा संचालन गरिएको छ। समाजले नेपालीको महत्वपूर्ण पर्व दसैँको प्राचीन महत्वलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा फैलाउने उद्देश्यले विधि विधानपूर्वक घटस्थापनादेखि दशमीसम्म विशेष पूजा आयोजना गरेको हो। कलशयात्रा सम्पन्न गरेको समाजले दसैँ पूजामा आरति समेत गर्ने गरेको छ।
समाजले हिन्दु धर्म, साहित्य, संस्कृतिको संरक्षणका लागि कृष्ण अष्टमी, छठ, हनुमान जयन्ती, शिवरात्रि, होलीलगायत १४ वटा कार्यक्रम गर्दै आएको छ।
सनातन धर्म, संस्कृतिको थप खोज, अनुसन्धान गरी सनातन सभ्यताको विकास तथा महत्वलाई नयाँ पुस्ताबीच पुर्याउने लक्ष्य रहेको समाजका अध्यक्ष रन्जित रौनियारले जानकारी दिनुभयो। उहाँका अनुसार समाजद्वारा भोटेकोशी बाढि पीडितलाई राहत सहयोग गरिएको छ। विभिन्न प्रकोप तथा विपतको समयमा समस्यामा परेका नागरिकलाई राहत वितरण समेत गरेकाे समितिले हालै हृदयरोगका विरामीलाई निःशुल्क शिविर सञ्चालन गरी स्वास्थ्य परीक्षण सम्पन्न गरेको छ।
समाजका महासचिव एवं रौनियार सेवा समितिका महासचिव हरि ओम रौनियारले आगामी दिनमा विधि विधान अनुसार देशभर संगठन सुदृढीकरण तथा सदस्यता विस्तार गरी गरिब विपन्न वर्गको सामाजिक साथै आर्थिक सशक्तिकरणका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
निकट भविष्यमा रक्तदानको कार्यक्रमलगायत थप सामाजिक कार्य गर्ने बताइएको छ।
नेपालमा करिब एक लाख संख्या रहेको सो समुदायले व्यापार, व्यवसाय सञ्चालन गर्ने गर्दछन्। केही कृषिमा आबद्ध रहेपनि निजामती सेवामा न्यून उपस्थिति छ ।
भोटेकोशी नदीमा आएको बाढिले ठूलो धनजनको क्षति भएका कारण समाजको वार्षिक क्यालेण्डर अनुसार केही पूजाआजा स्थगन गरिएको छ।







प्रतिक्रिया दिनुहोस्