जलविद्युत आयोजनाका लागि आवश्यक बजेट विनियोजन गर्न सांसदहरुको माग

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले जलविद्युत आयोजनाका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले नेपाल विद्युत प्राधिकरणले काममा ढिलासुस्ती गरेको भन्दै खारेज गर्न समेत माग गरेका हुन् । आइतबार प्रतिनिधिसभाको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको विनियोजन बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले सबै स्थानीय तहमा प्रहरी चौकीको व्यवस्था हुने गरी बजेट विनियोजन नगरिएको भन्दै आपत्ति जनाएका थिए ।

सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का सांसद राधा ज्ञवालीले जलविद्युत आयोजना निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरिन् । उनले बुढिगण्डकी जलविद्युत आयोजना लगायतका आयोजनाको जग्गाको मुआब्जाका लागि बजेटको व्यवस्था नगरिएको भन्दै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराइन् ।

सांसद सत्यनारायण शर्मा खनालले साना जलविद्युत अयोजना निर्माणमा जोड दिन सरकारसँग माग गरे । बैठकमा सांसदहरुले सरकारले मुलुकको समृद्धिका लागि आवश्यक बजेटको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्