निर्वाचनको तयारीमै छौँ, अहिले नै स्थानीय र प्रदेश चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिँदैनः प्रमुख आयुक्त कार्की

काठमाडौं, २२ असोज । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमा रहेको बताएका छन् ।

राससका प्रतिनिधिमण्डसँग आज आयोगमा भएको अनौपचारिक कुराकानीका कार्कीले भने, ‘हामी आगामी निर्वाचनको तयारीमै छौँ, त्यसो त आयोग सदैव निर्वाचनको तायरीमा रहन्छ नै । निर्वाचनको मिति सरकारले तोक्ने हो, यसरी तोकिएको मितिमा निष्पक्ष एवं विवादरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको हो, त्यसमा हामी प्रतिबद्ध छौँ ।’

स्थानीय तहको आगामी निर्वाचन फागुनमा नै गर्नेगरी सरकार अघि बढेको भन्ने समाचार पनि आएको छ नी भन्ने प्रश्नमा उनको भनाइ थियो, ‘मितिका बारेमा अहिले नै आयोगले भन्ने कुरा भएन । हाम्रो संवैधानिक प्रावधानअनुरूप आयोगसमेतको परामर्शमा सरकारले मिति घोषणा गर्ने हो । तर, लामो समयसम्म स्थानीय निकाय खाली राख्नुहुन्न भन्ने पक्षमा छौँ । त्यसैअनुसार हाम्रो तयारी पनि भइरहेको छ ।’

आगामी वैशाखमा स्थानीय तहको कार्यकाल सकिने भएकाले त्यसको वरपर रहनेगरी र संवैधानिक व्यवस्थाअनुसार नै निर्वाचन हुने उनको प्रष्टोक्ति छ ।

स्थानीय तह र प्रदेशको निर्वाचन एकैसाथ गर्नेगरी आयोगले तयारी थालेको हो भन्ने प्रश्नमा कार्कीले भने, ‘हाम्रो संवैधानिक संरचना र कानुनी प्रावधानअनुरुप नै निर्वाचन हुने हो । त्यसमा हाम्रो आवश्यकताको पनि कुरा छ । त्यसैले अहिले नै चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिँदैन । सरकारले मिति घोषणा गरेअनुसार नै हामीले काम गर्ने हो ।’

छलफलका क्रममा आयोग र राससबीचको सम्बन्धसहित सहयोग, सहकार्यलगायत समसामयिक विषयमा पनि कुराकानी भएको थियो । छलफलमा निर्वाचन आयुक्त सगुन शमशेर जबरा, ध्रुवराज वाग्ले पनि सहभागी थिए ।

त्यसैगरी, राससका महाप्रबन्धक सन्दीप राई, प्रधानसम्पादक उत्तम सिल्वाल, प्रमुख समाचारदाता एकराज पाठक, आलेख समाचार शाखा प्रमुख कृष्ण अधिकारी र निमित्त प्रशासन प्रमुख भरत केसी उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्