आजदेखि पर्सिसम्म वर्षा अलि धेरै हुने सम्भावना
काठमाडौं, १९ असोज। मनसुन नेपालबाट बाहिरिने क्रम सुरु भए पनि आगामी दिनमा वर्षाको गतिविधि बढ्ने मौसमविद्ले बताएका छन् ।
आजदेखि पर्सिसम्म वर्षा अलि धेरै हुने सम्भावना रहेको मौसमविद्को भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेलका अनुसार पूर्वी नेपालमा मनसुनी प्रणाली बाँकी रहेको, बंगालको खाडी र अरेबियन सागरबाट जलवाष्पयुक्त वायु आइरहेकाले वर्षाको गतिविधि बढ्ने भएको हो ।
मौसमविद पोखरेल भन्छन्, ‘अहिलेसम्मको अवस्था हेर्दाखेरि लगभग दशैंको घटस्थापनाको अघिल्लो दिनसम्म धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।’ दशैंको घटस्थापनाको दिन भने पानी पर्ने क्रम अलि कम हुने उनको अनुमान छ ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् माधवी सिग्देलले पनि आजदेखि देशका विभिन्न भूभागमा वर्षाका गतिविधि छिटपुट रूपमा जारी रहने बताइन् ।
महाशाखाले तीन दिनसम्म मात्र मौसम पूर्वानुमान सार्वजनिक गर्ने गरेको छ । आगामी तीन दिनसम्मै वर्षाको गतिविधि जारी रहने मौसमविद सिग्देलले बताइन् ।
आगामी दिनमा विशेषगरी पश्चिमी भूभागमा वर्षाका गतिविधि बढ्ने सम्भावना रहेको उनले जानकारी दिइन् ।
मौसमविद्का अनुसार आज पनि वर्षाको सम्भावना छ । आज दिउँसो काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा र तराईका पनि केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सिग्देलको भनाइ छ ।
मौसमविद पोखरेलका अनुसार भोलि असोज २० गते पहाडी भेगका धेरै ठाउँमा वर्षाको सम्भावना छ ।
पर्सि असोज २१ गते पश्चिमदेखि पूर्वका अझै धेरै ठाउँमा वर्षाको सम्भावना छ । मौसमविद पोखरेलका अनुसार २१ गते सुदूरपश्चिमका एक–दुई ठाउँमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ ।
गत २४ घण्टामा कर्णालीदेखि कोशीसम्म नै वर्षा भएको छ । खासगरी कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ ।
एक घण्टायता पनि लुम्बिनी प्रदेशको बर्दियाको बर्गद्धा, अर्घाखाँचीको सिमलपानी र दाङको गढवामा पानी परिरहेको छ ।
मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ । महाशाखाका अनुसार केही स्थानमा तुवालोसमेत लागेको छ ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा लेखिएअनुसार मधेश, कोशी, बागमती, गण्डकीको तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।







प्रतिक्रिया दिनुहोस्