प्रहरीको फरार सूचिमा रहेका मैनाली सम्पर्कमै

काठमाडौं । काठमाडौं नयाँ बानेश्वर–३१, सुरुची मार्गस्थित घरधनी सरोज मैनाली फरार भएका छन् ।

अदृश्य मिडिया नेटवर्क प्रा.लि.को कार्यालयमा तोडफोड तथा कार्यालयमा रहेका महत्वपूर्ण सामग्री चोरी तथा कार्यलय तोडफोड गरेको आरोप लागेका मैनालीलाई मिडिया सञ्चालक अतीत पोखरेलले प्रहरी वृत कार्यालय नयाँबानेश्वरमा मिति २०८३ जेष्ठ १३ गते आफै उपस्थित भई र हुलाकमाफर्त २०८३ भदौ १ गते जाहेरी दिएकी थिइन् । सोहि जाहेरी अनुसार अनुसन्धानका लागि प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । उनलाई पक्राउ गर्न प्रहरीले खोजी गर्दा नभेटेपछि उनी फारार सूचीमा छ ।

घटनाबारे जाहेरीदेखि घटनास्थल मुचुल्कासम्मको प्रक्रिया अघि बढेको दाबी गरिए पनि आरोपित भनिएका मैनाली पक्राउ नपरेको भन्दै अदृश्य मिडिया नेटवर्ककी सञ्चालक तथा महिला पत्रकार अतीत पोखरेलाले प्रहरी अनुसन्धानमाथि प्रश्न उठाएकी छिन् ।

सञ्चालक पोखरलका अनुसार कार्यालयमा समाचार संकलन, भिडियो उत्पादन, सम्पादन तथा प्रसारणका लागि प्रयोग हुँदै आएका कम्प्युटर, ल्यापटप, क्यामेरा, फर्निचर, स्टुडियो उपकरण, महत्वपूर्ण कागजातलगायतका सामग्रीमा तोडफोड तथा क्षति पुगेको छ । साथै कार्यालयमा रहेका केही महत्वपूर्ण सामग्री कागजात चोरी भएको उनको दाबी छ । घटनाबाट लाखौँ (लाखौँको रुपैयाँभन्दा बढीको क्षति भएको उनको भनाइ छ । यसको जानकारी नेपाल पत्रकार महासंघ, सूचना विभाग, प्रेस काउन्सिल नेपाल लगायत सम्बधित निकायमा दिएको उनले बताइन ।
उनका अनुसार चोरी तथा क्षति भएका सामग्री सामान्य घरायसी सामान नभई मिडिया हाउसको दैनिक कामका लागि आवश्यक उपकरण तथा कार्यालय सामग्री हुन् । उपकरण तथा सामग्रीमा भएको क्षतिका कारण समाचार उत्पादन तथा प्रसारणको नियमित कामसमेत प्रभावित भएको उनले बताएकी छन् ।

पोखरेलले आफूहरूले कार्यालयको भाडा नियमित रूपमा बुझाउँदै आएको दाबी गरेकी छन्। तर घरधनी सरोज मैनालीले विभिन्न बहानामा कार्यालय सञ्चालनमा समस्या सिर्जना गर्दै आएको र आफूलाई दुःख दिने गरेको उनको आरोप छ ।
सञ्चालक पोखरेलका अनुसार आफू कार्यालयमा नभएको समयमा कार्यालयमा तोडफोड भएको र कार्यालयमा रहेका सम्पूर्ण सामग्री चोरी भएको हो । घटनास्थलमा रहेका सामानको अवस्था, प्रवेश–निकास तथा चोरी भएका सामग्रीको विवरणलगायत विषयमा प्रहरीले गम्भीर अनुसन्धान गर्नुपर्ने उनको माग छ।
घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही तथा चोरी भएका सामग्री र तोडफोडबाट भएको क्षतिको क्षतिपूर्तिको माग गर्दै पोखरेलले प्रहरी वृत नयाँ बानेश्वरमा जाहेरी दिएको बताएकी छन्।
उनका अनुसार २०८२ जेठ १३ गते उनी स्वयं प्रहरी कार्यालय पुगेर जाहेरी दिन खोजेकी थिइन्। तर तत्काल जाहेरी दर्ता गर्न नमानेपछि हुलाकमार्फत जाहेरी पठाउनुपरेको उनको दाबी छ ।

‘जेठ १३ गते आफैँ गएर जाहेरी दिएँ, तर इन्स्पेक्टर साबले दर्ता गर्न मान्नुभएन,’ पोखरेलले भनिन्, ‘त्यसपछि हुलाकबाट जाहेरी पठाएँ। केही समयपछि प्रहरी कार्यालयबाट आएर घटनास्थलको मुचुल्का पनि उठाइयो। तर त्यसपछि अनुसन्धानले अपेक्षित गति लिएन।’
पोखरेलले प्रहरी वृत्र् नयाँ बानेश्वरका इन्स्पेक्टर यज्ञराज जोशीले अनुसन्धानको अवस्थाबारे आफूलाई जानकारी दिने गरेको भए पनि व्यवहारमा प्रक्रिया अगाडि बढेको नदेखिएको आरोप लगाएकी छन् ।

उनका अनुसार इन्स्पेक्टर जोशीले मिसिल सरकारी वकिलको कार्यालयमा पठाइसकेको बताएको भए पनि आफूले त्यसको आधिकारिक अवस्था र थप प्रक्रिया स्पष्ट रूपमा जानकारी पाउन नसकेको उनको भनाइ छ ।

पीडित पक्षले मिसिल वास्तवमै कहाँ पुगेको छ, सरकारी वकिलको कार्यालयबाट के निर्देशन आएको छ, चोरी तथा तोडफोडसम्बन्धी अनुसन्धान कुन चरणमा छ र अबको कानुनी प्रक्रिया के ह भन्ने विषयमा सम्बन्धित निकायले स्पष्ट जानकारी दिनुपर्ने माग गरेको छ ।
पोखरेलका अनुसार घरधनी सरोज मैनालीविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी आफूले पाएकी छन् । पक्राउ पूर्जी जारी भएको भनिए पनि मैनाली पक्राउ नपरेको र प्रहरीको फरार सूचीमा मात्रै राखिएको भन्दै उनले प्रहरीमाथि नै प्रश्न उठाएकी छन् ।
उनको प्रश्न छस् यदि पक्राउ पुर्जी जारी भएको हो भने त्यसको कार्यान्वयन किन भएन ? आरोपित व्यक्ति सार्वजनिक रूपमा देखिँदा पनि प्रहरीले पक्राउ प्रक्रिया किन अघि बढाएन ? फरार सूचीमा राखेर मात्रै अनुसन्धानको जिम्मेवारी पूरा हुन्छ ?
तर पक्राउ पुर्जी जारी भएको, त्यसको अवस्था तथा मैनाली फरार सूचीमा रहेको विषयको आधिकारिक पुष्टि सम्बन्धित निकायबाट हुन बाँकी छ ।
पोखरेलले आफू महिला पत्रकार तथा मिडिया सञ्चालक भएकै कारण कुनै विशेष सुविधा वा छुट नचाहेको बताएकी छन्। आफ्नो कार्यालयमा भएको तोडफोड तथा चोरीको आरोपबारे कानुनअनुसार निष्पक्ष अनुसन्धान र समान कानुनी व्यवहार मात्र आफ्नो माग रहेको उनको भनाइ छ ।
उनले प्रश्न गरेकी छन्, “एउटा मिडिया हाउसमा, त्यो पनि महिला पत्रकारले सञ्चालन गरेको कार्यालयमा तोडफोड र चोरीको आरोपमा न्यायको प्रक्रिया अघि बढाउन यति कठिन हुन्छ भने सामान्य नागरिकले यस्तै घटना भोग्दा कहाँ जाने ?” उनका अनुसार नागरिकको पेशा, पहुँच वा सामाजिक हैसियतका आधारमा कानुनी प्रक्रिया फरक हुनु हुँदैन। चोरी तथा तोडफोडको आरोपबारे उपलब्ध प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान हुनुपर्ने उनको माग छ ।

नयाँ सरकार गठनसँगै सुशासन, जवाफदेहिता र कानुनको समान कार्यान्वयनको अपेक्षा भइरहेका बेला एउटा मिडिया हाउसले दिएको जाहेरी, घटनास्थल मुचुल्का र त्यसपछिको अनुसन्धान प्रक्रियाबारे उठेको प्रश्नले प्रहरी प्रशासनको कार्यशैलीमाथि पनि बहस सिर्जना गरेको छ ।
पीडित पक्षले जाहेरी दर्ता, घटनास्थल मुचुल्का, मिसिलको अवस्था तथा पक्राउ प्रक्रियाबारे पटक–पटक जानकारी लिनुपर्ने अवस्था आएको बताएको छ ।

नयाँ सरकार आएपछि पनि नागरिकले आफ्नो मुद्दाको अवस्था बुझ्न प्रहरी कार्यालय धाइरहनुपर्ने हो ? कानुन कार्यान्वयनमा नयाँपन कहिले देखिन्छ ? भन्ने प्रश्नसमेत पोखरेलले उठाएकी छन् ।

जागरण मिडियाको सम्पर्कमा आएका मैनालीले आफूलाई लागेको आरोपबाट बचाउ गर्दै आफ्नो पक्ष प्रस्तुत गरेका छन्। तर दाबी पुष्टि गर्ने ठोस प्रमाण भने उनले अहिलेसम्म सार्वजनिक वा उपलब्ध गराउन सकेका छैनन्।
वडा  कार्यालयले घटनासँग सम्बन्धित कागजात, प्रमाण र सम्बन्धित पक्षको बयान संकलन गर्ने जनाएको छ।
कार्यालयले प्राप्त तथ्य र प्रमाणका आधारमा विषयको वास्तविकता पत्ता लगाउने प्रक्रिया अघि बढाउने बताएको छ।
आवश्यक प्रमाणबिना गरिएका दाबीलाई निष्कर्षको आधार नबनाइने कार्यालयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्