हिम्लुङ हिमपहिरोमा परि तृत्युभएका २ जनाको शव काठमाडौं लगिंदै, बेपत्ताको बिहानैदेखि खोजी

काठमाडौं, १२ असोज। मनाङको हिम्लुङ हिमालमा आइतबार खसेको हिमपहिरोका परी सम्पर्कविहीन भएकाहरुको सोमबार बिहानैदेखि हलिकप्टरबाट खोजि भइरहेको छ भने उद्धार टोलीले घटनास्थलमा पुगेर खोजी गरिरहेका छन् ।

पहिरोमा परी १० जना सम्पर्कविहीन भनिएको भए पनि यकिन तथ्यांक अझै प्राप्त भइनसकेको प्रशासनको भनाइ छ ।

दुई जनाको शव आइतबार नै चामे ल्याइएको थियो र अहिले ती शव काठमाडौं पठाउने तयारी भइरहेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

‘उद्धारका लागि ३ जनाको टोली आइतबार नै घटनास्थलमा छोडेर फर्किएको थियो । २ जनाको शव उनीहरुले नै फेला पारेका हुन् । आज बिहान थप ३ जना उद्धार टोली हेलिकप्टरमा गइसक्यो,’ सहायक सिडिओ पौडेलले भने, ‘आज पनि बिहानैदेखि खोजी थालिइसकिइएको छ ।’

खोजीमा अनुभवी गाइडहरू पठाइएको र मौसम पनि खुलेकाले आज समस्या नपर्न नसक्ने उनले बताए ।

हिमपहिरोका कारण सम्पर्कविहीन भएका भनिएका ११ जना हिँडेर फू गाउँ आइपुगेको सहायक सीडीओ पौडेलले जानकारी दिए । हिमपहिरोका कारण बेपत्ता भएकाहरुको बिहानैदेखि खोजी कार्य भइरहेको सहायक सीडीओ पौडेलको भनाइ थियो । तर, सम्पर्कविहीन भएका कति हुन् भन्ने यकिन तथ्यांक प्राप्त नभएको र फरक परक तथ्यांक आइरहेको उनको भनाइ छ ।

अब मनाङको आकासमा भने बादलको टुक्रासमेत नभएको र मौसम पूरै खुलेकाले खोजी तथा उद्धारमा सहज हुने सहायक सिडिओ पौडेलले विश्वास व्यक्त गरे । प्रभु एयरको हेली उद्धार तथा खोजीमा प्रयोग गरिएको उनको भनाइ छ ।

आइतबार फेला परेका २ जनाको शव भने अहिले हेलिकप्ठरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ ।

नापाभूमि गाउँपालिका वडा नम्बर ५ को हिम्लुङ हिमालमा आइतबार हिमपहिरो खसेको थियो । हिमलुङ हिमाल मनाङको नार–फू क्षेत्रमा पर्ने ७ हजार १२६ मिटर अग्लो हिमाल हो ।

प्रतिक्रिया दिनुहोस्