अविरल वर्षाका कारण कर्णाली प्रदेशका ६ जिल्लाका विभिन्न सडकखण्ड अवरुद्ध
काठमाडौं, ११ असोज । अविरल वर्षाका कारण कर्णाली प्रदेशका ६ जिल्लाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। वर्षासँगै पहिरो खस्दा कालीकोट, सल्यान, हुम्ला, जाजरकोट, जुम्ला र मुगुका सडकखण्डमा यातायात सेवा प्रभावित भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार कालीकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। सल्यानको कपुरकोट गाउँपालिका–१ खारखोला तथा वडा नं ३ र ४ मा पर्ने अरिङ्गालेमा पहिरो खसेपछि राप्ती राजमार्ग अवरुद्ध भएको छ।
जुम्लाको तातोपानी गाउँपालिका–१ राँकामा पहिरो खस्दा कर्णाली राजमार्गअन्तर्गत जुम्ला–नाग्मा सडकखण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।
कर्णाली करिडोरका विभिन्न खण्ड प्रभावित:
हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चामा पहिरो तथा लेदो सडकमा खसेपछि कर्णाली करिडोर अवरुद्ध भएको छ। वर्षाका कारण सडकमा माटो र लेदो थुप्रिँदा यातायात सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ।
मुगुको छायानाथ रारा नगरपालिका–७ र ८ को पिना–ताल्चा सडकखण्डमा पनि पहिरो खसेपछि नाग्मा–गमगढी सडक अवरुद्ध भएको छ। उक्त सडकखण्ड पनि कर्णाली करिडोरअन्तर्गत पर्छ।
जाजरकोटका विभिन्न सडकखण्डमा समेत लगातारको वर्षाका कारण यातायात सेवा प्रभावित भएको प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो खस्ने, लेदो बग्ने तथा सडक कटान हुने क्रम बढेको छ। सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधनको आवागमन प्रभावित भएको छ।
अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ। कर्णाली प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार वर्षाका कारण अवरुद्ध सडकको अवस्था बुझ्ने तथा यातायात सञ्चालनका लागि आवश्यक पहल भइरहेको छ ।







प्रतिक्रिया दिनुहोस्