पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ, पक्राउको रहस्य के ?
काठमाडौं, ११ असोज। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।
उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको स्रोतले पुष्टि गरेको छ । हाल सम्म उनीविरुद्धको कसुर भने खुलाइएको छैन ।
्तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्ध २०७८ साल फागुनमा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए ।
उनीमाथि विभिन्न २१ अभियोग लगाइएको थियो । तत्कालीन संसदले महाअभियोग टुंगो लगाउन सकेको थिएन । तर पनि उनी सर्वोच्च फर्किन पाएनन् ।
उनी को हुन ?
राणा परिवारका सदस्य चोलेन्द्र शमसेर जबरा राणा प्रधानमन्त्री वीरशमशेर जबराका चौथो पुस्ताका सन्तान हुन् । उनी वीर शमशेरका छोरा ईन्द्र शमशेरका नाति हुन् । चोलेन्द्रका बाबु युवराज शमशेर तत्कालिन राजसभा स्थायी समितिका सदस्य थिए । तर, चोेलेन्द्र राजनीतिमा लागेनन् ।
वकालत पेशा गर्दागर्दै चोलेन्द्र ०५३ वैशाख १ गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्त भएका थिए । लामो समय अस्थायी न्यायाधीश भएका उनी पछि विशेष अदालतको सदस्य पनि भए ।
पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश भइरहेकै बेला उनी ०७१ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् । त्यसबेला संसदीय सुनुवाइ समितिमा एमाले र माओवादीले जबराको विपक्षमा मत दिएका थिए । तर पछि, उनी एमाले र माओवादी मिलेर बनेको नेकपाकै साथ पाएर प्रधानन्यायाधीश बनेका थिए ।
अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा थ्रेटपछि कार्यालयमा ल्याएर राखिएको बताएका छन् ।
एसएसपी खड्काले आज बिहान सो जानकारी दिएका हुन् । गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।
रातारात जबरालाई पक्राउ किन गरियो भन्ने प्रश्नमा एसएसपी खड्काले भने, ‘उहाँलाई सुरक्षा थ्रेट छ भन्ने थाहा पाएपछि राति नै केही हुनसक्छ भनेर हाम्रो कार्यालयमा ल्याएर राखेका हौं ।’
जबरालाई नियन्त्रणमा लिनुअघि प्रहरीले कुनै पनि अदालतबाट पक्राउ पुर्जी नलिएको सम्बद्ध स्रोतले जनाएको छ ।
प्रहरी पक्राउ गर्न आएपछि जबराले भाइ प्रभुशम्शेरलाई फोन गरेर जानकारी गराएका थिए । प्रभुशम्शेरले पनि जेनजीहरुबाट तपाईंलाई थ्रेट छ भन्दै प्रहरीहरुले दाइलाई पक्रेर लगेको बताए ।
प्रभुशम्शेरका अनुसार जबरालाई अपराध अनुसन्धान कार्यालय टेकुमा राखिएको छ । प्रहरीले कसैलाई भेट्न समेत नदिएको उनी निकट स्रोत बताउँछ । अहिले उनका छोरा भेट्न भन्दै टेकु पुगेका छन् । यसको बोमा थप अनुसन्धान हुँदै जाने छन् ।
उनले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पदको कार्यभार सम्हालेका थिए । तर मन्त्रिपरिषद सदस्यको भागबण्डा लगायतका काण्डमा मुछिएपछि उनी विवादित बनेका थिए ।
उनीविरुद्ध कानुन व्यवसायीहरुले आन्दोलन समेत गरेका थिए । यसले उनको कार्यकाल विवादित बनेको थियो ।







प्रतिक्रिया दिनुहोस्