शर्त सिहत एक साताभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने इरानको प्रस्ताव

काठमाडौं, १० असोज । इरानले अमेरिकासामु केही सर्त पूरा भए एक साताभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने प्रस्ताव गरेको छ ।

इरानका विदेशमन्त्री अब्बास अराग्चीले शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार अमेरिकाले सम्झौतामा उल्लेख गरिएका आवश्यक सर्त पूरा गरेपछि होर्मुज जलडमरू खोल्ने प्रक्रिया सुरु हुनेछ । तर, उनले ती सर्तको विस्तृत विवरण भने सार्वजनिक गरेनन् ।

अराग्चीले ती सर्त यसअघि जुनमा अमेरिका र इरानबीच भएको समझदारीपत्र ९एमओयू० मै उल्लेख गरिएको बताए ।

उनले अब निर्णय गर्ने जिम्मेवारी अमेरिकाको भएको स्पष्ट पारे । उनका अनुसार इरानको प्रस्ताव कतारमार्फत अमेरिकासमक्ष पठाइएको छ ।

इरानको प्रस्तावबारे अमेरिकी अधिकारीले बीबीसीलाई दुई देशबीच मध्यस्थकर्तामार्फत सकारात्मक संवाद भइरहेको बताएका छन् । उनका अनुसार उक्त संवादमा आणविक मुद्दासमेत समावेश छन् ।

के थियो अमेरिका–इरानबीचको समझदारी ?

अमेरिका र इरानबीच जुन १८ मा भएको १४ बुँदे एमओयूको उद्देश्य युद्धविराम लागू गर्नु र होर्मुज जलडमरूलाई आंशिक रूपमा खोल्नु थियो ।

समझदारीमा इरानले आणविक हतियार हासिल नगर्ने विषय समावेश थियो । साथै अमेरिका, इरान र उनीहरूका सहयोगी पक्षबाट सबै मोर्चामा सैन्य कारबाही अन्त्य गर्ने उल्लेख थियो ।

एमओयूमा अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्ने तथा इरानमाथि लगाइएका प्रतिबन्धमा राहत दिने प्रावधानसमेत राखिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्