काँग्रेसको देशभरका अधिकांश निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं, १० असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका छन् ।

अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन पछाडि धकेलिए पनि अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा पूर्वनिर्धारित तालिकाअनुसार क्षेत्रीय अधिवेशनहरू भइरहेका हुन् ।

केन्द्रीय निर्वाचन समितिले भारी वर्षा हुने पूर्वानुमानका आधारमा १३ असोजभित्र स्थानीय अनुकूलताअनुसार क्षेत्रीय अधिवेशनहरू सम्पन्न गर्न भनेको छ ।

निर्वाचन समितिले विकल्प दिएपछि केही जिल्लाहरूले आइतबार र सोमबार अधिवेशन गर्ने गरी निर्वाचन कार्यतालिका संशोधन गरेका छन् ।

मौसममा सुधार देखिएकाले अधिकांश स्थानमा आजै ९शनिबार० र बाँकी ठाउँमा सोमबारसम्म अधिवेशन सम्पन्न हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालको भनाइ छ ।

उनले क्षेत्रीय अधिवेशनका लागि अहिलेसम्म कुनै अवरोध वा समस्या नदेखिएकाले सहज रूपमा अधिवेशन सम्पन्न हुने वातावरण बनेको पनि बताए ।

संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन् ।

कांग्रेसले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन भने नगर्ने भएको छ । केन्द्रीय महाधिवेशन १६–१९ असोजमा आयोजना गरिने कांग्रेसको कार्यतालिका रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्