मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग सडक पहिरोका कारण अवरुद्ध
काठमाडौं, १० असोज । निरन्तरको वर्षासँगै कर्णाली प्रदेशका विभिन्न सडकमा पहिरो खस्दा यातायात सेवा प्रभावित भएको छ ।
मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग तथा जाजरकोटको छेडाथलह सडक पहिरोका कारण अवरुद्ध भएका छन् ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित मध्यपहाडी राजमार्गको चाइना बगरदेखि सिस्नेखोलातर्फको भिरमा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
सडक खुलाउन डिभिजन सडक कार्यालय चौरजहारीअन्तर्गतको मेसिन परिचालन गरिएको कार्यालय प्रमुख खुमबहादुर भण्डारीले बताए । उनका अनुसार करिब दुई घण्टामा सडक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
यस्तै, कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ मा पहिरो खस्दा सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । पहिरोका कारण उक्त खण्डमा यातायात आवागमन प्रभावित भएको छ । जुम्लादेखि मुगुसम्मको सडकसमेत अवरुद्ध भएको छ ।
जाजरकोटको छेडागाड नगरपालिका–४ लेवाभीरस्थित छेडाथलह भित्री सडकखण्डमा माथिबाट ढुङ्गा र लेदोसहितको पहिरो खसेको छ । पहिरोका कारण छेडाथलह सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–५ सारखोलामा समेत पहिरो खसेर सडक अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण पहाडी सडकमा पहिरो खस्ने क्रम बढेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।







प्रतिक्रिया दिनुहोस्