सुस्ताका ढेड सय बढी घर बाढीको उच्च जोखिममा

काठमाडौं, १० असोज । पश्चिम नवलपरासीको सुस्ताका ढेड सय बढी घर बाढीको उच्च जोखिममा परेका छन् ।

सुस्ता गाउँपालिका(५ को थारु टोलबाट शुक्रबारदेखि पस्न सुरु भएको नारायणी नदीको बाढी त्यहाँका १६५ घरमा पसेको छ ।

थारु टोलका ७८ घर परिवारलाई सुस्तामै बनाइएको होल्डिङ सेन्टरमा शुक्रबार दिउसोँ नै सारिएको र गए राति सैनिक टोल, बड्का टोलमा पनि बाढी पसेपछि थप ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको सुस्तास्थित सशस्त्र प्रहरी बेस क्याम्पका प्रहरी उपरीक्षक गोविन्द बहादुर खातीले जानकारी दिए ।

पानीको बहाव बढ्ने क्रममा रहेकाले उनीहरुलाई नारायणी नदी वारि सुरक्षित स्थानमा सार्ने तयारी रहेको उनले बताए । कच्ची घरमा बाढी पसेपछि अधिकांश स्थानीयको बिचल्ली भएको छ ।

नारायणी नदीमा पानीको सतह निरन्तर बढ्ने क्रममा रहेको छ । शनिबार बिहान सात बजेको मापन अनुसार गण्डक ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड दुई लाख ६७ हजार क्युसेक छ ।

नारायणी नदीले आफ्नो धार परिवर्तन गरी सुस्ता गाउँतर्फ सोझिएपछि एक लाख क्युसेक पानीको बहाव पुग्ने बित्तिकै सुस्तामा बाढी पस्ने वडा सदस्य आदम खानले बताए ।

नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेकाले सुस्ताको सबै बस्ती जोखिममा रहेको खानले बताए । सुस्तामा निर्माणाधीन तटबन्ध भारतीय पक्षले रोकेपछि निर्माण हुन बाँकी रहेको १३२ मिटर क्षेत्रबाट नदीले कटान गर्दै बस्ती नजिक पुगेको अर्का स्थानीय बाबु खानले बताए । सुस्तामा बस्ती संगै उखु खेतीमा पनि बाढीले क्षति पुर्‍याएको खानले गुनासो गरे ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जोखममा परेका परिवारलाई उद्धार गनर्नुपर्ने भए सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्