संयुक्त राष्ट्रसंघको महासभा: विश्वव्यापी असमानता, जलवायु न्याय र बहुपक्षीयताको आवश्यकतामाथि प्रधानमन्त्री बालेन जोड, विश्व शान्ति र कल्याणको कामना
काठमाडौं, ९ असोज। प्रधानमन्त्री बालेन शाहले विश्व शान्ति र कल्याणको कामना गरेका छन्।
संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन् । यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस् । धन्यवाद, नमस्ते।’
नेपालको आध्यात्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएका पशुपतिनाथ र गौतम बुद्धको सन्देशलाई विश्व शान्ति र कल्याणसँग जोड्दै प्रधानमन्त्री शाहले आफ्नो सम्बोधन टुंग्याएका हुन्।
प्रधानमन्त्री शाहले विश्वव्यापी असमानता, जलवायु न्याय र बहुपक्षीयताको आवश्यकतामाथि जोड दिएका छन् ।
उनले आफू यस वर्ष महासभालाई सम्बोधन गर्ने सबैभन्दा कम उमेरका सरकार प्रमुख भएको आफूलाई बताइएको उल्लेख गर्दै भने, ‘म यहाँ यो विषयलाई समाचार बनाउन आएको होइन । यो मञ्चबाट जे कुरा भनिए पनि एउटा कुरा स्पष्ट रूपमा भन्न आएको हुँ ।’
शाहले आफूले तिर्न सक्ने देशले आवश्यक वस्तु खरिद गर्न पाउने अवस्था हुनुपर्ने बताए । उनले भने, ‘जुन देश खरिदका लागि भुक्तानी गर्न तयार छ, उसले आवश्यक वस्तु किन्न सक्नुपर्छ । अनि ७२ घण्टाभित्र संसारको जुनसुकै ठाउँमा हतियार पुर्याउन सक्ने विश्वसँग कुनै किसानलाई सम्मानजनक जीविकोपार्जनको साधनबाट वञ्चित राख्ने कुनै बहाना छैन ।’
यही कारण नेपालले बहुपक्षीयतामा विश्वास गर्ने उनले बताए । ‘यसैले हामी बहुपक्षीयतामा विश्वास गर्छौँ । यसैले हामीलाई यस्तो संयुक्त राष्ट्रसंघ चाहिन्छ, जहाँ सानो र गरिब देशको उपस्थितिको पनि अर्थ होस् र हामी मिलेर ठोस परिणामतर्फ अघि बढ्न सकौँ,’ शाहले भने ।
उनले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्रै सीमित गर्न नहुने बताए ।
‘जलवायु न्याय भनेको केवल पैसाको विषय होइन । यो वितरणात्मक न्यायको विषय पनि हो– यसको मूल्य कसले चुकाउँछ रु यो प्रक्रियागत न्यायको विषय हो– निर्णय प्रक्रियामा कसको आवाज सुनिन्छ रु’ उनले प्रश्न गरे ।
शाहले हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्ठित तथा अतिकम विकसित देश र अझै जन्मिन बाँकी पुस्ताको भविष्यलाई समान महत्व दिनुपर्ने बताए ।
‘हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्ठित र अतिकम विकसित देश तथा अझै जन्मिन बाँकी पुस्ताको भविष्यलाई पनि समान रूपमा महत्व दिइन्छ कि दिइँदैन भन्ने प्रश्न हो,’ उनले भने ।
संयुक्त राष्ट्रसंघमै हुने ‘सगरमाथा टु सी’ कार्यक्रमबाट नेपालले जलवायु न्यायसम्बन्धी विश्वव्यापी छलफललाई नेतृत्व गर्न सहयोग गर्ने पनि शाहले बताए ।
सम्बोधनका क्रममा उनले विश्व अहिले गहिरो अनिश्चितताको अवस्थामा रहेको बताए । नेपालमा नयाँ पुस्ताको आकांक्षा प्रतिबिम्बित गर्ने नयाँ लोकतान्त्रिक जनादेश प्राप्त भएको उल्लेख गर्दै उनले भने, ‘हाम्रा युवाहरूले इमानदारीको राजनीति माग गरेका छन् ।’







प्रतिक्रिया दिनुहोस्