ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ।यसअघि एनपीएलको पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाट खेलेका म्याकमुलेनलाई टोलीले तेस्रो संस्करणका लागि पुनः अनुबन्ध गरेको हो।

टोलीमा पुनः फर्कन पाउँदा उत्साहित रहेको बताउँदै म्याकमुलेनले सुदूरपश्चिम रोयल्ससँगको आफ्नो दोस्रो यात्राका लागि आफू तयार रहेको बताए।

‘सुदूरपश्चिम रोयल्समा पुनः फर्कन पाउँदा म निकै उत्साहित छु। पहिलो संस्करणमा टोलीसँग बिताएको समय र नेपालमा पाएको अनुभव विशेष थियो। फेरि यही टोलीबाट एनपीएल खेल्ने अवसर पाउनु खुसीको कुरा हो। टोलीलाई राम्रो नतिजा दिलाउन आफ्नो तर्फबाट सक्दो योगदान गर्नेछु’ म्याकमुलेनले भने।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का ले म्याकमुलेनलाई पुनः टोलीमा भित्र्याउन पाउँदा खुसी व्यक्त गर्दै उनको अनुभव र क्षमताले टोलीलाई थप बलियो बनाउने बताए।

‘ब्रान्डनलाई फेरि सुदूरपश्चिम रोयल्सको परिवारमा स्वागत गर्न पाउँदा हामी खुसी छौं। उनीसँग पहिलो संस्करणमै टोलीसँग खेलिसकेको अनुभव छ र उनको अलराउन्ड क्षमताले टोलीलाई महत्वपूर्ण योगदान दिने विश्वास लिएका छौं। तेस्रो संस्करणमा पनि उनीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छौं’ खड्काले भने।

सुदूरपश्चिम रोयल्सले यसअघि न्युजिल्यान्डका स्कट कुग्लेइन र इंग्ल्यान्डका सेफ जैबलाई तेस्रो संस्करणका लागि विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्