सिटिजन्स बैंक इन्टरनेसनल र इसेवाको सहकार्यमा ‘स्वावलम्बन कर्जा’ सुरु
काठमाडौं, ८ असोज । सिटिजन्स बैंक इन्टरनेसनल र इसेवाको सहकार्यमा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गर्दै डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ।
काठमाडौंस्थित भिभान्तामा आयोजित कार्यक्रममा उक्त कर्जा सुविधा सार्वजनिक गरिएको हो। नयाँ सुविधाले कर्जा लिन आवश्यक लामो प्रक्रिया, कागजी झन्झट तथा बैंकसम्म भौतिक रूपमा पुग्नुपर्ने बाध्यतालाई सहज बनाउने उद्देश्य राखेको छ।
‘स्वावलम्बन कर्जा’मार्फत योग्य अपाङ्गता भएका व्यक्तिले इसेवा एपबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन्। यसअन्तर्गत न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम २ लाख रुपैयाँसम्म कर्जा लिन सकिनेछ। कर्जाको वार्षिक ब्याजदर ९।९९ प्रतिशत र प्रशोधन शुल्क ०।७५ प्रतिशत तोकिएको छ।
कर्जाका लागि इसेवा खाता केवाईसी प्रमाणित भएको, नेपाल सरकारबाट जारी अपाङ्गता परिचयपत्र भएको, कम्तीमा ६ महिनादेखि इसेवा प्रयोग गर्दै आएको तथा तलब वा व्यवसायबाट नियमित आम्दानी हुने व्यक्ति योग्य हुनेछन्। कर्जा स्वीकृति भने सम्बन्धित मूल्याङ्कन तथा बैंकका लागू सर्तअनुसार हुने जनाइएको छ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले डिजिटल प्रविधिको प्रयोगमार्फत अपाङ्गता भएका व्यक्तिको वित्तीय पहुँचलाई सरल र सहज बनाउने उद्देश्यले सुविधा ल्याइएको बताए। उनले ‘स्वावलम्बन कर्जा’ एउटा वित्तीय उत्पादन मात्र नभई वित्तीय पहुँच विस्तारको अवधारणाको सुरुवात भएको उल्लेख गरे।
त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख सञ्चालन अधिकृत रोशन मानन्धरले अपाङ्गता भएका व्यक्तिको औपचारिक कर्जामा पहुँच विस्तार गर्न इसेवासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।
कार्यक्रममा कर्जा सुविधाबारे जानकारी, प्रत्यक्ष कर्जा वितरण, एक सहभागीको अनुभव तथा ‘स्वावलम्बन कर्जा’ सम्बन्धी वृत्तचित्रसमेत प्रस्तुत गरिएको थियो।







प्रतिक्रिया दिनुहोस्