एमालेको केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी

काठमाडौं, ७ असोज । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज तेस्रो दिन पनि जारी रहने भएको छ । बैठक आज बिहान ९ बजेदेखि सुरु हुने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

हिजो ११८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । १६ जना केन्द्रीय सदस्यहरु अनुपस्थित रहेका छन् । आज बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने आचार्यले बताए ।

आचार्यका अनुसार केन्द्रीय सदस्यहरुले धारणा राखिसकेपछि सचिवालय बैठक बस्ने तयारी छ । सचिवालय बैठकपछि केन्द्रीय कमिटी बैठक सम्पन्न हुने आचार्यले बताए ।

एमाले केन्द्रीय कमिटी बैठक ललितपुरको भनिमण्डलस्थित एक पार्टी प्यालेसमा असोज ५ गतेदेखि सुरु भएको थियो । पूर्वनिर्धारित कार्यतालिका अनुसार असोज ७ गते बैठक सम्पन्न गर्ने भनिएको थियो ।

‘सबै केन्द्रीय सदस्यहरुले बोलिसकेपछि मात्र सचिवालय बैठक बस्नेछ । त्यसैले सचिवालय बैठक आज पनि हुनसक्छ, भोलिलाई पनि सर्न सक्छ,’ आचार्यले भने, ‘यदि भोलि सचिवालय बैठक भयो भने केन्द्रीय कमिटी बैठक एक दिन लम्बिने छ ।’

प्रतिक्रिया दिनुहोस्