स्टार्टअपदेखि विस्तारसम्म उद्यमीलाई सघाउन चेम्बर–वृहतप्रेनर्स सहकार्य पाँच सहरमा कार्यक्रम विस्तार गर्ने तयारी
* ३०० भन्दा बढी उद्यमीलाई जोड्ने
* एक हजार रोजगारी सिर्जना गर्ने लक्ष्य
काठमाडौं, २ असोज । नयाँ व्यवसाय सुरु गर्ने तर त्यसलाई दिगो रूपमा सञ्चालन र विस्तार गर्न नसक्ने नेपाली उद्यमीका लागि नेपाल चेम्बर अफ कमर्स र वृहतप्रेनर्सले सहकार्य थालेका छन् । स्टार्टअपलाई व्यावसायिक संरचना, विशेषज्ञ परामर्श, लगानी तथा बजारसँग जोड्दै विस्तारको चरणसम्म पु¥याउने उद्देश्यले दुई संस्थाबीच ‘उद्यमी संलग्नता कार्यक्रम’ सुरु गरिएको हो ।भृकुटीमण्डपमा जारी ‘नवौँ नेपाल ल्याण्ड एन्ड हाउजिङ तथा कन्स्ट्रक्सन एक्स्पो–२०२६’ को अवसरमा आयोजित कार्यक्रममा चेम्बर र वृहतप्रेनर्सबीच औपचारिक सहकार्य घोषणा गरिएको हो । ‘नेपालमा व्यवसाय निर्माण ः सुरुवातदेखि विस्तारसम्म’ भन्ने अवधारणासहित सुरु गरिएको कार्यक्रमले नयाँ व्यवसाय स्थापना गर्ने मात्र नभई सञ्चालनमा रहेका व्यवसायलाई थप व्यवस्थित र विस्तारयोग्य बनाउन सहयोग गर्ने जनाइएको छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले नेपालमा व्यावसायिक विचार र सम्भावना भए पनि त्यसलाई व्यवहारिक व्यवसायमा रूपान्तरण गर्ने संरचना, मार्गदर्शन र बजार पहुँचको कमी चुनौतीका रूपमा रहेको बताएका थिए । नयाँ उद्यमीले व्यवसाय सुरु गरेपछि कानुनी, वित्तीय, व्यवस्थापकीय र बजारसम्बन्धी विषयमा समयमै सही परामर्श नपाउँदा जोखिम बढ्ने भएकाले संस्थागत सहयोग आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
वृहतप्रेनर्सले आफूलाई परम्परागत इन्क्युबेटरको सीमामा नराखी ‘अर्बान लाइफस्टाइल भेन्चर स्टुडियो’का रूपमा अघि बढाउने जनाएको छ । यसको अवधारणा स्पष्टता, संरचना र सही दिशालाई मुख्य आधार बनाएर उद्यमीलाई व्यवसाय सुरु गर्नेदेखि विस्तार गर्ने चरणसम्म सहयोग पु¥याउने रहेको छ ।
कार्यक्रमअन्तर्गत उद्यमीलाई पाँच प्रमुख क्षेत्रमा सहयोग गर्ने योजना अघि सारिएको छ । पहिलो चरणमा ‘एक्जिक्युसन हब’मार्फत व्यवसायिक विचारलाई कार्यान्वयनमा लैजान सहयोग गरिनेछ । त्यस्तै ‘एक्सपट्र्स क्लिनिक’मार्फत कानुन, वित्त, लगानी र बजार व्यवaस्थापनका क्षेत्रमा विशेषज्ञ परामर्श उपलब्ध गराउने योजना छ ।
उद्यमीलाई परियोजना, सम्भावित साझेदार तथा बजारका अवसरसँग जोड्न ‘अपर्चुनिटी एक्सेस सिस्टम’ विकास गरिनेछ । कानुनी फर्म, चार्टर्ड एकाउन्टेन्ट, ब्रान्डिङ एजेन्सी तथा लगानी विश्लेषकलगायत सेवा प्रदायकलाई एउटै इकोसिस्टममा जोडेर उद्यमीलाई आवश्यक सेवा सहज रूपमा उपलब्ध गराउने पनि कार्यक्रमको उद्देश्य छ ।
त्यसैगरी स्थानीय बजारमा सीमित व्यवसायलाई थप विस्तार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन आवश्यक व्यावसायिक संरचना निर्माणमा सहयोग गरिनेछ ।
नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ प्रधानले उद्यमशीलतालाई आर्थिक स्वतन्त्रतासँग जोडेर हेर्नुपर्ने बताइन् । उनका अनुसार उद्यमशीलताले आम्दानीको अवसर सिर्जना गर्नुका साथै व्यक्तिलाई आफ्ना योजना र लक्ष्यअनुसार काम गर्ने आधार प्रदान गर्छ ।
उनले नेपाली युवा तथा महिलालाई उद्यमशीलतामा जोड्न आवश्यक रहेको बताउँदै धेरै नयाँ उद्यमी सिर्जना हुँदा रोजगारी र आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने धारणा राखिन् । वृहतप्रेनर्सकी निर्देशक पूर्णिमा राजभण्डारीले व्यवसायमा सही समयमा प्राप्त हुने मार्गदर्शनले सम्भावित आर्थिक जोखिम कम गर्न सक्ने बताइन् । उनका अनुसार उद्यमीले कम जोखिममा व्यवसाय अघि बढाउन सके लगानीकर्ता तथा साझेदारले समेत प्रतिफल प्राप्त गर्ने र त्यसबाट दीर्घकालीन रूपमा अर्थतन्त्रमा मूल्य सिर्जना हुने अवस्था बन्न सक्छ ।
नेपाल चेम्बर अफ कमर्सको देशव्यापी व्यावसायिक सञ्जाल र वृहतप्रेनर्सको प्राविधिक तथा परामर्श क्षमताबीचको सहकार्यले उद्यमीलाई व्यवसायिक अवसरसँग जोड्न सक्ने उनको भनाइ छ ।
घरजग्गा तथा निर्माण क्षेत्रमा समेत नयाँ उद्यमीको सम्भावना रहेको एक्स्पो आयोजक समितिका संयोजक रोशन भोयद्योले बताए । उनका अनुसार निर्माण, आवास र घरजग्गासँग सम्बन्धित क्षेत्रमा प्रविधि र नयाँ व्यवसायिक अवधारणाका लागि पर्याप्त अवसर रहेकाले युवालाई त्यसतर्फ आकर्षित गर्न आवश्यक छ ।
वृहतप्रेनर्सका कार्यक्रम व्यवस्थापक सुदर्शन शिवाकोटीले कार्यक्रमको कार्यान्वयनका लागि विभिन्न चरणका योजना अघि सारिएको जानकारी दिए । उनका अनुसार व्यवसायको वर्तमान अवस्था पहिचान गरी सुधारका क्षेत्र पहिल्याउन ‘बिजनेस हेल्थ चेकअप’ सञ्चालन गरिनेछ । त्यस्तै व्यवसायको क्षमता र वृद्धि योजनामा केन्द्रित दुईदिने ‘बिजनेस ग्रोथ इन्क्युबेसन’ कार्यक्रम सञ्चालन हुनेछ ।
उद्यमीको अवस्थाअनुसार ‘आइडिया फेज’, ‘ग्रोथ सिकर्स’ र ‘स्केल उद्यमी’ गरी तीन तहमा सदस्यता योजना बनाइएको छ । यसबाट व्यवसायको चरणअनुसार आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
कार्यक्रमलाई काठमाडौंमा मात्र सीमित नराखी देशका पाँच प्रमुख सहरमा विस्तार गर्ने तयारी गरिएको छ । ती सहरमा कम्तीमा ३०० भन्दा बढी उद्यमीलाई प्रत्यक्ष रूपमा जोड्ने र एक हजारभन्दा बढी रोजगारी सिर्जनामा योगदान पु¥याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।नेपालमा नयाँ व्यवसायको संख्या बढाउनु मात्र पर्याप्त नभई सुरु भएका व्यवसायलाई टिकाउ, व्यवस्थित र विस्तारयोग्य बनाउने चुनौती रहेको यस सहकार्यको मुख्य आधार हो । व्यवसाय सुरु गर्न चाहने युवालाई विचारदेखि कार्यान्वयनसम्म र सञ्चालनमा रहेका उद्यमीलाई वृद्धि तथा विस्तारसम्म आवश्यक सेवा, परामर्श र अवसरसँग जोड्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको नवौं सिजी प्रपर्टी जग्गा तथा आवास एवम निर्माण प्रदर्शनीका सल्लाहकार उत्तम झाको भनाइ छ ।
‘नवौँ नेपाल ल्याण्ड एन्ड हाउजिङ तथा कन्स्ट्रक्सन एक्स्पो–२०२६’सँगै सुरु भएको यो कार्यक्रमले विशेषगरी आवास, निर्माण र घरजग्गासँग सम्बन्धित नयाँ व्यवसायिक अवधारणालाई समेत अवसरसँग जोड्ने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया दिनुहोस्