भारतले दियो तीन वटा बेलिब्रिज दियो नेपाललाई
काठमाडौं, २७ भदौं । भारतले भोटेकोशी नदीको बाढीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका लागि तीन वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) नेपाललाई दिएको छ ।
बाढीले रसुवा र नुवाकोटका पक्की पुल बगाएपछि तत्काल सडक सञ्जाल सुचारू गर्न शनिबार सडक डिभिजन कार्यालय हेटौंडामा भारतीय दुतावासले बेलिब्रिज हस्तान्तरण गरेको हो ।
भारतीय दूतावासका प्रतिनिधि नारायण सिंहले सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख किरण कार्कीलाई बेलिब्रिज हस्तान्तरण गरे । सिंहकाअनुसार भारत सरकारको सहयोगमा ७० मिटर बराबरका तीनवटा बेलिब्रिज उपलब्ध गराइएको हो ।
भारतले यसअघि मंसिर २०८२ मा पनि १० वटा बेलिब्रिज सहयोग गरेको थियो । भारतले २०८१ असोजमा आएको बाढीले काभ्रे, रामेछाप, सिन्धुली जिल्लामा बाढीपहिरोबाट अवरुद्ध भएको सडक सञ्जाललाई जोड्न सडक डिभिजन हेटौंडालाई ३८ करोड मुल्यका १० वटा बेलिब्रिज दिएको थियो ।
बेलिब्रिज हस्तान्तरणपछि मकवानपुर–१ का प्रतिनिधिसभा सदस्य प्रकाश गौतमले विपद्का समयमा छिमेकी मुलुक भारतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले बाढीका कारण रसुवा र नुवाकोटमा ठूलो संख्यामा पुल क्षतिग्रस्त भएकाले थप बेलिब्रिज उपलब्ध गराउन भारत सरकारसँग आग्रह पनि गरे ।
गत १० भदौमा आएको बाढीका कारण रसुवा, नुवाकोटसहितका जिल्लामा ठूलो संख्यामा सडक तथा पुलमा क्षति पुगेको थियो । सडक विभागका अनुसार रसुवादेखि चितवनसम्मको सडकखण्डमा ४१ वटा मोटरेबल पुल पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । यो सहयोग सँगै नेपाललाई पुल निर्माणमा सहयोग पुग्ने छ ।



प्रतिक्रिया दिनुहोस्